अर्थ

सकिृय नेतृत्व खोज्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

काठमाडौं - गत बुधबार दिउँसो साढे तीन बजे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भद्रकालीस्थित कार्यालयमा पुग्दा प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदी कार्यकक्षमा थिएनन्। उनका सहयोगी कर्मचारीबाट उनी केही समयमा आउने जानकारीको आधारमा आधा घण्टापछि पुग्दा उनी भर्खर कार्यकक्षमा प्रवेश गरेका थिए। भेट्न समय माग्दा सहयोगीमार्फत उनले खबर पठाए, ‘आज सञ्चालक समितिको बैठक छ, अजेन्डाका विषयमा तयारी गर्नुपर्ने भएकाले समय दिन सकिएन, अर्को दिन आउनु।

त्यस दिनको मात्र हैन उनको खाद्यमा प्रमुख कार्यकारी अधिकृत बनेपछिको दैनिकी त्यसरी नै बितिरहेको छ। उनी रहने एकाध घण्टाको समयमा विभागीय कर्मचारीको दौडधुप सुरु हुन्छ। फाइल तयार हुन्छन्, उनले हेर्छन्, हस्ताक्षर गर्छन्। खाद्यका एक विभागीय प्रमुख भन्छन्, ‘सिइओ सा’बको त्यत्ति समय पाउनु पनि ठूलो कुरा हो, कम्तिमा दैनिक आएर महत्वपूर्ण गाँठा फुकेका छन्।’ सुवेदी अहिले दुइटा महत्वपूर्ण जिम्मेवारीमा छन्। एउटा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक र अर्को खाद्यको प्रमुख कार्यकारी अधिकृत। उनी मात्र होइनन्, उनीभन्दा अगाडिका चारजना अधिकारीले विगत अढाइ वर्षदेखि त्यसैगरी दोहोरो जिम्मेवारी पूरा गर्दै आइरहेका छन्।

सरकारले संस्थानबाट नाफा र सेवाको अपेक्षा गरेको तर नेतृत्व गर्ने कर्मचारीलाई दिने कुरामै कञ्जुस्याई गर्दै आएको छ। पछिल्लो पटक एकल जिम्मेवारीका साथ तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठले पूरा कार्यकाल बिताएका थिए। उनको कार्यकाल २०७४ साउनमा सकिएयता कुनै पनि महाप्रबन्धक पूरा समय बसेका छैनन्। त्यसमाथि उनीहरुको भूमिका नै दोहोरो छ। श्रेष्ठपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकलाई नै खाद्यको महाप्रबन्धक (कार्यकारी प्रमुख) बनाइँदै आएको छ।

श्रेष्ठपछि आपूर्ति विभागको महानिर्देशक समेतको जिम्मेवारीमा रहेका गोकुल धितालले केही समय तत्कालीन खाद्य संस्थानको महाप्रबन्धकको जिम्मेवारी पाएका थिए। उक्त समयमा विभागको कार्यालयसमेत खाद्यकै भवनमा थियो। खाद्यका एक अधिकारी भन्छन्, ‘कम्तीमा उहाँ त तत्कालीन समयमा एउटै भवनमा कार्यालय हुँदा काम गर्न सजिलो थियो। तर अहिले त हाकिम बबरमहल र भद्रकाली धाउँदाधाउँदै ठिक्क हुन्छ।’ धितालपछि दोहोरो जिम्मेवारी बोकेर आएका महाप्रबन्धक कुमार दाहाल जिम्मेवारीमा रहे। उनी बाहिरिएपछि उस्तै दोहोरो भूमिकाका आएका योगेन्द्र गौचन गएको कात्तिकदेखि स्वतः अवकासबाट गएपछि नेत्रप्रसाद सुवेदी आएका छन्।

त्यतिमात्र हैन यसबीचमा आपूर्ति विभागमा वाणिज्य र उपभोक्ता संरक्षण समेत थपिएर उता पनि कामको चाप थपिएको छ। यस आर्थिक वर्षदेखि त झनै नेसनल ट्रेडिङ खाद्यमै गाभिएर यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनिसकेपछि खाद्यको कार्यभार समेत थपिएको छ। पूर्वमहाप्रबन्धक गौचन उपभोक्तासँग जोडिएको वाणिज्य आपूर्ति विभाग र खाद्यको विषय मिल्दो देखिएको भए पनि दोहोरो भूमिका निभाउन सजिलो नहुने अनुभव सुनाउँछन्। ‘दोहोरो मात्र हैन मैले तेहरो जिम्मेवारी समेत पूरा गरें, चाहँदाचाहँदै पनि सोंचेअनुरुप काम गर्न सकिन्न,’ नेसनल ट्रेडिङ खाद्यमा नगाभिँदैको समयमा त्यसको पनि महाप्रबन्धक रहेका उनले भने, ‘त्यो समयको व्यस्तता यति थियो कि अस्पतालको बेडमा रहँदासम्म पनि कार्यालयकै काम थियो।’

त्यति खटेर काम गर्दा पनि आफू योजनाअनुसार काम नपाएको थकथकी उनीसँग अझै पनि छ। उनी विभागको भूमिकालाई जोखिम र चुनौतीसहितको जिम्मेवारी भएको बताउँछन्। ‘त्यसमाथि सेवा र नाफा दुवैमा ध्यान दिनुपर्ने आवश्यकता रहेको खाद्य संस्थानको व्यवस्थापनमा त झनै सचेत हुनुपर्छ,’ उनले भने, ‘अब संस्थान कम्पनी भएपछि त झनै नाफाघाटाको समेत प्रभाव रहन्छ।’ उनले संस्थानमा वर्षौसम्म लेखापरीक्षण समेत नहुँदा पनि भएकामा अब कम्पनीमा वार्षिक लेखापरीक्षण नभएको अवस्थामा नवीकरणसमेत नहुने भएकाले कम्पनी व्यवस्थापन चुनौतीको रुपमा रहेको बताए। संस्थानका विभिन्न निर्णय सरकारमार्फत हुँदै आएको भए पनि कम्पनीलाई साधारणसभाले मात्र महत्वपूर्ण निर्णय गर्ने हुँदा निर्णय गर्ने कुरामा समेत सहज नभएको बताउँछन्।

‘सरकारले सञ्चालन गरेकै भए पनि कम्पनी भएपछि नाफा कमाउने उद्देश्य रहन्छ नै, त्यसका लागि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न चुनौती छ,’ उनले भने, ‘मेरै कार्यकालमा पनि आवश्यक व्यावसायिक योजना र रोडम्यापबारे छलफल भएको थियो, त्यसबारे थप छलफल गरेर कार्यान्वयन गर्नुपर्छ। गौचन सरकारले नयाँ महाप्रबन्धक नियुक्त नहुँदासम्मका लागि भनेर पहिले पठाए पनि काम चलेकै छ भनेर नियुक्तिमा ढिलाइ गरेको हुनसक्ने बताउँछन्। शिवकुमार मण्डल आपूर्तिमन्त्री रहेका समयमा महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन गरेर प्रकृया अगाडि बढाएको भए पनि सरकारले निर्णय गर्न नसक्दा अहिलेसम्म पूर्ण जिम्मेवारी लिएर महाप्रबन्धक खटाउन सकेको छैन।

खाद्यका एक अधिकारी हरेक निर्णय कार्यकारी प्रमुखसँग छलफल र उनको स्वीकृतिबिना अगाडि बढ्न नसक्ने बताउँछन्। ‘दुवैतिर कार्यकारी प्रमुखको भूमिका निभाउँदा चाहेर पनि काममा प्रभावकारिता ल्याउन सकिँदैन,’ उनी भन्छन्,‘ कार्यकारी प्रमुखको भूमिकामा रहेका सबैले सकेको प्रयास गर्नुभएकै छ , भूमिकामाथि हाम्रो गुनासो हैन तर दोहोरो त्यसमाथि पनि उपभोक्तासँग जोडिएका, बढि खट्नुपर्ने निकायमा दुवैतर्फ काम गर्दा त्यसले दिने परिणाममा त पक्कै पनि असर पुग्छ।’ उनी खाद्यको अवस्था र जिम्मेवारी हेर्दा २४ सै घण्टा संस्थाबारे नै सोचेर काम गर्ने प्रमुख आवश्यक रहेको बताउँछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अध्यक्षसमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याल सरकारले छिटै खाद्यमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रकृया अगाडि बढाउन लागेको बताउँछन्। उनी भन्छन्, ‘दोहोरो भूमिकाले अफ्ठ्यारो पारेको हामीले पनि महसुस गरेका छौं, त्यसको व्यवस्थापनका लागि पहल भइरहेको छ ।’ खाद्यले कार्यकारी प्रमुख मात्र हैन अध्यक्षको नियुक्ति समेत प्रशासकबाट काम चलाउँदै आएको छ। सरकारले तत्कालीन अध्यक्ष प्रकाशबहादुर केसीपछि मन्त्रालयका सचिवलाई जिम्मेवारी दिएर टार्दै आएको छ।

खाद्य अहिले सम्पत्ति व्यवस्थापनदेखि भवन संरचनाको दूरवस्था झेल्नेदेखि दुर्गममा खाद्यान्न पु-याउनका लागि आवश्यक व्यवस्थापनका काममा अल्झिरहेको छ। त्यसको व्यवस्थापनमा बलियो नीतिगत निर्णय गर्ने काम र आँट भएको नेतृत्व आउन नसकेको जानकारको बुझाइ छ।

प्रकाशित: १९ माघ २०७६ ०४:२८ आइतबार

खाद्य_व्यवस्था व्यापार