अर्थ

तोरीको तेल उत्पादन गर्ने उद्योग लोपोन्मुख

भक्तपुर - भक्तपुरका परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोप हुने क्रममा पुगेका छन्। कुनैबेला जिल्लाका मानन्धर समुदायको घरघरमा देखिने सयौं तोरीको तेल उत्पादन गर्ने उद्योग अहिले लोप प्रायः भइसकेका छन्।

भक्तपुरमा कुनै समय थर अनुसारको पेसा व्यवसाय हुन्थ्यो। अवाल थर भएकाले घर बनाउने डकर्मी, शिल्पकार थर भएकाले झ्यालढोका बनाउने काठको सिकर्मी, धौबञ्जार थर भएकाले दही बनाउने आदि काम गर्थे। यसरी नै मानन्धर थर भएका भक्तपुरेको मुख्य पेसा व्यवसाय तोरीको तेल उत्पादन गर्ने हुन्थ्यो। यही हिसावले यहाँका मानन्धर थर भएका परिवारको घरघरमा कुनैबेला तोरीको तेल उत्पादन गर्ने उद्योग हुन्थ्यो। तर अहिले त्यो खोज्नुपर्ने अवस्था आएको छ।

भक्तपुर जिल्ला मानन्धर युवा संघका अध्यक्ष न्हुछेरत्न मानन्धरले अहिले आफ्नो समुदायमा तोरीको तेल उद्योग सञ्चालन गर्ने परिवार नै छैन भन्दा पनि हुने बताए। उनका अनुसार तोरीको तेल उत्पादन गर्ने मानन्धर परिवार अहिले मुश्किलले पाँचवटा मात्रै छन्। ती पनि जेनतेन चलिरहेका छन् र कहिलेबाट बन्द हुन्छ भन्नै नसकिने अवस्था छ। तथ्यांक अनुसार भक्तपुरमा करिब तीन हजार पाँच सय मानन्धर समुदायको बसोबास रहेको छ। तर पनि पाँच घरपरिवारले मात्र मुस्किलले तोरीको तेल उत्पादन गर्दै आएका छन्। ती पनि प्राविधिक कारणले बन्द हुने अवस्थामा छन्। त्यसैले मौलिक पेसा संकटमा परेसँगै मानन्धर समुदायले तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालनको आवश्यकता भएको उनीहरु बताउँछन्।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्षसमेत रहेका उनले चेम्बरको उद्देश्यसँग मानन्धरहरुको परम्परागत पेसालाई जोडेर उद्योग सञ्चालनको पहल भक्तपुरबाटै गर्नुपर्ने बताए। उनले गुणस्तरीय उत्पादनमा ध्यान दिन सके समुदायको संयुक्त लगानीमा तयार हुने तोरीको तेललाई अन्तर्राष्ट्रिय बजारमासम्म पु-याउन सकिने सम्भावना पोखे। भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धर मानन्धर समुदायको पुरानो पेसालाई जीवित बनाइराख्नुपर्ने आवश्यकता रहेको बताउँछन्। त्यसका लागि समुदायभित्रको पुँजी एकीकृत रुपमा परिचालन गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन्।

मानन्धर समुदायभित्रको यो पेसालाई जीवन्त बनाउने विषयमा बहससमेत सुरु गरिसकेको उनले बताए। पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री उत्पादन गर्ने उद्योग रुग्ण बनेकोप्रति चासो व्यक्त गर्दै उनले मानन्धर समुदायले उद्योग सञ्चालनको बहस सुरु हुनु आफैंमा सकारात्मक भएको पनि टिप्पणी गरे।

प्रकाशित: १६ माघ २०७६ ०३:२७ बिहीबार

भक्तपुर उत्पादन उद्योग