अर्थ

बैंकहरुले कुल गार्हस्थ उत्पादनमा ध्यान दिनु पर्‍यो : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन्। शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराएका हुन्।

उनले नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादनमुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन आग्रह गरेका हुन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान दिन पनि आग्रह गरे। उनले निक्षेपमा कम ब्याजदर दिएकोले बचतकर्ता निरास हुन सक्ने र बचत बाहिरिन सक्ने भएकाले ध्यान दिन आग्रह गरे। उनले दिर्घकालिन रुपमा ठूला लगानीमा प्रवाह हुने कर्जामा स्थिर ब्याजदर कायम गर्ने विषयमा राष्ट्रिय वाणिज्य बैंकले नेतृत्व लिन सक्ने समेत बताए। उनले बैंकहरु सुरक्षित हुने र व्यवसाय धारापमा पर्ने गरी ब्याजदर उतारचढाव हुँदा बैंक कहिल्यै पनि सुरक्षित हुन नसक्ने बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए। उनले गत वर्ष ५ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको र यस वर्ष लामो समयपछि १२ प्रतिशत लाभांश दिन सफल भएको समेत बताए।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ९७ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब कर्जा लगानी गरेको तथा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको जानकारी दिए। उनले बैंकको कुल सम्पत्ती २ खर्ब ५० अर्ब पुगेको तथा कर्जा पूँजी निक्षेप अनुपात ७७ प्रतिशत रहेको समेत जानकारी दिए।

प्रकाशित: १० माघ २०७६ १२:०५ शुक्रबार

बैंक कुल_गार्हस्थ_उत्पादन