अर्थ

न्यु डायमन्ड र पुलिस अन्तिम चारमा

त्रिभुवन आर्मिको स्पाईक ब्लक गर्दे टप्स माविका खेलाडी ।

काठमाडौं – आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा बिहीबार न्यु डायमन्ड र पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई पराजित गर्दै एक खेल बाँकी छँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएका हुन्। अब डायमन्ड र पुलिसबीचको खेलले नै समूह ‘बी’ को विजेता टुंगो लगाउनेछ। यी दुई टोलीबीचको खेल बुधबार वर्षाका कारण रद्द भएको थियो। पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकाल्यो। यस्तै डायमन्डले पनि २५–५, २५–१२ र २५–११ को सहज जित निकाल्यो।

बिहीबारै त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई २५–१३, २५–१६ र २५–७ को सोझो सेटमा हरायो। समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले पारामाउन्टलाई पराजित गरेको थियो। आर्मीसँग पराजित टप्सले पारामाउन्टमाथि ३–१ को जित निकाल्यो। बिहीबारका लागि तय भएको आर्मी र एपिएफबीचको खेल वर्षाका कारण रद्द भएको छ। पहिलो सेट एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। त्यसपछि दोस्रो सेट वर्षाका कारण सुरु नै हुन सकेन। प्रतियोगितामा शुक्रबार तीन खेल हुनेछन्। पहिलो खेलमा न्यु डायमन्ड र नेपाल पुलिस क्लब, दोस्रो खेलमा एपिएफ र पारामाउन्ट तथा तेस्रो खेलमा आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ, दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन्।

प्रकाशित: २५ पुस २०७६ ०३:५८ शुक्रबार

न्यु_डायमन्ड_स्पोर्ट्स_क्लब राष्ट्रिय_महिला_भलिबल