अर्थ

‘बसाइसराई रोक्न डोजरमुखी बजेट!’

निर्माणाधीन कालीगण्डकी करिडोरमा काम गर्दै स्काभेटर । तस्बिरः मुक्ति/नागरिक

पाल्पा- स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट डोजरमुखी भएको सरोकारवालाहरुले बताएका छन्। पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले विनियोजित गरेको बजेट सडक निर्माण केन्द्रीत भएको सरोकारवालाहरुले बताएका हुन्।

सांसद पाण्डेले शनिबार तानसेनमा सरोकारवालाहरुसहित पत्रकार सम्मेलन गरेर पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने योजना प्रस्तुत गरे। पत्रकार नारायण न्यौपानेले झण्डै ६० प्रतिशत बढी योजना सडकमामात्र केन्द्रीत भएको भन्दै अन्य विषयगत क्षेत्रहरुलाई ध्यान दिनुपर्ने बताए। पत्रकार माधव अर्यालले सांसदको योजना डोजरमालिकहरु केन्द्रीत रहेको भन्दै गरिबमुखी बजेट बनाउन सुझाव दिए। सामाजिक अभियान्ता लिलाबहादुर कार्की भन्छन्, ‘कार्यक्रम अधिकांश सडकमै केन्द्रीत देखियो। कार्यक्रम सञ्चालन हुने स्थानमा ७० प्रतिशत रकम भत्काउनेमा खर्च गरिएता पनि कम्तिमा ३० प्रतिशत रकम त्यसको संरक्षण र दिगोपनमा ध्यान दिनु आवश्यक छ।’

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले डोजर केन्द्रीत बजेटले विकासको मुहार फेर्न नसक्ने आशय व्यक्त गरे। ‘डोजर ठूलाबडाकै छन्। तर कार्यकर्ताका नाम जोडेर डोजर चलाउने गरिन्छ।  त्यसको मालिक अरु माथिका पनि हुने हुँदा कमिशन माथिकासम्मै पुग्छ, दर्लामीले भने, स्थानीय पूर्वाधारको विकास कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषी तथा अन्य उद्यमशील कार्यमा लगाउनुपर्छ।’

उपप्राध्यापक कृष्ण कार्कीले सडक केन्द्रीत बजेटमा डोजर लगाउन पूर्ण प्रतिबन्ध लगाउन सक्नुपर्ने बताए। उनी भन्छन्, ‘कम्तिमा १० लाख मुनिका ८/१० योजनाहरु डोजर होईन मानिसहरु लगाएर काम पूरा गर्न सक्नुपर्छ। यसले राम्रो सन्देश दिन्छ।’ नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले वितरणमुखी भन्दा पनि क्षेत्रगत रुपमा मिलाएर सांसदले कार्यक्रम बनाएको बताए। उनले कार्यक्रम बनाउनुभन्दा पनि कार्यान्वयन पक्षलाई दरिलो बनाउन सुझाव व्यक्त गरे।

सुझावहरु ग्रहण गर्दै क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले आफूले स्थानीय सरकारबाट प्राप्त भएका योजना नै अगाडी बढाउन लागि परेको बताए। ‘गाउँमा बुढाबुढी मानिसहरुमात्र बस्न थालेका छन्। उनीहरुलाई पनि बाटो नै चाहिएको छ, सांसद पाण्डेले भने, गाउँबाट शहर र शहरबाट तराईतर्फ बसाइसराई बढ्दो छ। यसलाई रोक्न सडक चाहिएको छ। बाटो बनाउनु आवश्यक हुँदो रहेछ।

त्यसपछि मात्र खानेपानी, शिक्षा, स्वास्थ्य र अन्य सुविधा खोजिँदो रहेछ। त्यसकारण यसपटकको बजेट सडक केन्द्रीत भए।’ सांसद पाण्डेले आफूले चाहँदा चाहाँदै पनि कतिपय अवस्थामा निर्देशिका भन्दा बाहिर जान नमिलेकोले यस्तो बजेट बनेको बताए। उनी भन्छन्, ‘निर्देशिकाको परिधिभित्र रहेर कार्यक्रम बनेका छन्। नगर÷गाउँपालिका तथा अन्य सरोकारवालाहरुको सरसल्लाहमै यसो गरिएको हो।’

सांसद पाण्डेले शनिबार सार्वजनिक गरेका स्थानीय पूर्वाधार विकासका २८ कार्यक्रममा १९ वटा सडक केन्द्रीत छन्। उनले कार्यक्रम कार्यान्वयन पक्षलाई निगरानी गर्न सरोकारवालाहरुलाई आग्रह गरे। क्षेत्र नं. २ का पूर्वाधार विकास कार्यक्रममा श्रीनगरमा पर्यटन प्रवद्र्धन, योग तथा व्यायाम केन्द्र निर्माण, कर्णेल उजिर सिंह पार्क निर्माण, विद्यालय भवन निर्माण र खेल मैदान कार्यक्रम समेत राखिएको छ।

 

प्रकाशित: २० पुस २०७६ ०८:०२ आइतबार

डोजरमुखी बजेट