अर्थ

र्‍याफ्टिङ, बञ्जी, क्यानोनिङ र खानामा भारी छुट

सुनकोसीमा -याफ्टिङ र भोटेकोसी नदीमा बञ्जीजम्पको आनन्द लिँदै पर्यटक। तस्बिर:ध्रुव/नागरिक

सिन्धुपाल्चोक - स्थानीय नदीमा हुर्केका र चिसो पानीमा पालिएका माछाका परिकारको स्वाद लिँदै ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलको आनन्द लिन चाहानुहुन्छ ? यदि, चाहानुहुन्छ भने भारी छुटमा यी सबैको एकमुष्ट स्वाद लिने अवसर छ।

नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा होटल व्यवसायीले आफूहरुले दिँदै आएको सबै सेवामा ३० प्रतिशत छुट दिने घोषणा गरेका हुन्। जनवरी १ देखि पहिलो एक सातासम्म होटल, लज र रेस्टुराका सेवामा छुट दिने घोषणा व्यवसायीले गरेको भ्रमण वर्ष जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए।
‘व्यवसायीको घोषणालाई स्वीकार गर्दै समितिको बैठकबाट समेत ३० प्रतिशत छुटको निर्णय गरेका छौं,’ जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका उनले भने। उनका अनुसार भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित ¥याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउन व्यवसायीले छुटको प्याकेज ल्याएका हुन्। आन्तरिक तथा बाह्य पर्यटकले छुटको सुविधा पाउने प्रमुख तामाङले जानकारी दिए। -याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेलका लागि सिन्धुपाल्चोक प्रख्यात छ। साहसिक खेल खेल्न वार्षिक हजारौं विदेशी पर्यटक आउँछन्। अरनिको राजमार्गको सुकुटेदेखि तातोपानीसम्म खुलेका दर्जनभन्दा बढी रिसोर्टले -याफ्टिङ खेलाउँछन्। पछिल्लो समय -याफ्टिङ र बञ्जीजम्पमा स्वदेशी युवापुस्ताको आकर्षण ह्वात्तै बढेको छ।

भ्रमण वर्षको पहिलो साता सुनकोसी र भोटेकोसी नदीमा सञ्चालित -याफ्टिङ, बञ्जीजम्प, क्यानोनिङ लगायत साहसिक खेल, खानाका परिकार, बास र होटलका अन्य सुविधामा पर्यटकले छुट पाउने छन्।

तीन हजार पाँच सयदेखि पाँच हजार रुपैयाँको प्याकेजमा व्यवसायीले -याफ्टिङ, बञ्जीजम्म र क्यानोनिङ लगायत साहसिक खेल खेलाउँदै आएका छन्। यो शुल्कमा यातायात, ब्रेकफास्ट, लञ्च र डिनर र वाससमेत समेटिएको छ। अब यो शुल्कमा पर्यटकले ३० प्रतिशत छुट सुविधा पाउने छन्। सुनकोसी, भोेटेकोसी, मेलम्ची, इन्द्रावती, ब्रह्मायाणी नदीमा हुर्केका स्थानीय जातका माछाका परिकारका लागि पनि जिल्ला प्रसिद्ध छ। पछिल्लो समय जिल्लाको पहिचानमा ट्राउट माछासमेत थपिएको छ। जिल्लाले ‘ट्राउट हब’को परिचय थप्दा पर्यटकको आकर्षण बढाएको छ।

जिल्लामै उत्पादित अर्गानिक खाने कुराको स्वाद पर्यटकको जिब्रोमा झुण्डिने गरेको छ। ‘मिनी’ इलाम भनेर चिनिने भोटेचौर, हेलम्बु क्षेत्र, मेलम्ची, बाह्रविसे, सीमा नाका तातोपानी, पाँचपोखरी, भैरवकुण्ड, जुगल हिमशृंखलाको आधारशिविर नेपेमासाल लगायत स्थान जिल्लाका चर्चित पर्यटकीय गतन्व्य हुन्। प्राकृतिक रुपमै ४२ डिग्री तापक्रमको पानी बहने प्रसिद्ध तातोपानी धारा यसै जिल्लामा पर्छ। गौराति भीमेश्वर, पाल्चोक भगवती, तौथली र उग्रचण्डीमाई लगायत तीर्थस्थल, तामाङ, नेवार, ह्योल्मो, शेर्पा, गुरुङ, अल्पसंख्यक माझी, दनुवार, पहरी समुदायको भेषभूषा र संस्कृति जिल्लाको धार्मिक पर्यटनका क्षेत्र हुन्।

‘भ्रमण वर्षमा अधिकतम पर्यटक भित्र्याउन हदैसम्मको प्रयास गर्ने छौं,’ आयोजक समितिका संयोजक तामाङले भने। उनका अनुसार सुनकोसी र भोटेकोसी किनारका होटल, रिसोर्टमा भ्रमण वर्षको पहिलो साता लगातार सात दिन सातै स्थानमा सांस्कृतिक प्रदर्शनी गरिने छ। रिसोर्टका पाहुनालाई त्यहाँ लगेर साँस्कृतिक प्रदर्शनी अवलोकन गराइने छ।

विभिन्न विषगत कार्यालय, स्थानीय तह र संघसंस्थाको कार्यक्षेत्रमा पर्यटन सम्बन्धी जानकारी दिने होडिङ बोर्ड राखेर भ्रमण वर्षको प्रचार गर्ने निर्णय आयोजक समितिले गरेको छ। गत वर्ष पुसमा ७७ जिल्लाका समन्वय प्रमुख, उपप्रमुख भेला गराएर प्रथम राष्ट्रिय जलवायु सम्मेलन गरिएको गुफाडाँडामा आउँदो पुस १८ गते जलवायु दिवस मनाउँदै भ्रमण वर्ष–२०२० लाई स्वागत गरिने संयोजक तामाङले जानकारी दिए।

प्रकाशित: १४ पुस २०७६ ०२:४६ सोमबार

र्‍याफ्टिङ नेपाल_भ्रमण_वर्ष–२०२०