अर्थ

एक किलो प्याजको मूल्य ३ सय रुपैयाँ !

जुम्ला पुगेको चाइनिज प्याज। तस्बिरःधनबहादुर: नागरिक

जुम्ला - भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि जुम्लामा चाइनिज प्याज निर्यात हुन् हुन थालेको छ।  अहिले सदरमुकाम खलंगा बजारदेखि ग्रामिण क्षेत्रका बजारसम्म चाइनिज प्याज छ्यापछ्याप्ती छ। यहाँको बजारमा चाइनिज प्याजको मुल्य प्रतिकिलाे २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा किनबेच भइरहेको ब्यापारी बताउँछन्।

जुम्लामा अहिलेसम्मको रेकर्डमा अधिकतम मुल्य ८० रुपैयाँदेखि माथि पुगेको थिएन्। स्थानीय किसानले उत्पादन गरेको प्याजप्रति किलाे ५० रुपैयाँमा बिक्थ्यो। तर अहिले प्याजको मुल्य आकासियो,विदेशी प्याजमा निर्भर हुनु पर्ने भयो,स्थानीय बिर्खबहादुर बुढाले भने,‘किसानलाइ ब्यवसायिक प्याज खेति गर्न अनुदानको व्यवस्था नगर्नुको परिणाम हो यो।’

तरकारी ब्यापारी सेतु बुढा चाइनिज प्याज होलसेलमै महंगो खरिद गर्नु परेकोले महंगोमै बेच्न बाध्य भएको बताउँछिन्। उनले भनिन्,‘भारतीय प्याज आउनै छाड्यो, चाइनिज प्याजले बजार कब्जा गर्यो। उपभोक्तालाइ पनि यो प्याज नखाइ बाध्य छ। ’ चाइनिज प्याज गुलियो प्रकारको छ। यो बजारमा धेरै बिक्दैन्, तर थोरथोरै भएपनि दिनमा राम्रै कारोबारो हुने गरेको छ। यो समयमा जुम्लाका तरकारी तथा खुद्रा पसलमा चाइनिज प्याज छ्यापछ्याप्ती नै छ।

उद्योग वाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरुचन्द्र देवकोटा प्याज खेतिमा लगानी नभएकोले अहिले भारत र चीनको प्याज प्रयोग गर्नु परेको दुखेसो पोख्छन्।   स्थानीय स्तरमा प्याज खेती ब्यवसायिक रुपमा हुन सकेन्।  भारतले प्याज निर्यातमा प्रतिबन्ध गरेपछि महङ्गी बढेको हो। अब स्थानीय सरकार र कृषि क्षेत्रमा काम गर्ने सामाजिक संस्थाले प्याज खेतीतर्फ किसानलाइ उत्साहित बनाउनु पर्नेमा जोड दिए।  उनले भने,‘प्याज खेतिको संभावना जुम्लामा पनि निकै बढी छ, किसानमा इच्छा शक्ति छैन्, सरोकारवाला प्याजमा लगानी गर्न मानिरहेका छैनन्। जसका कारण प्याजमा चर्को मुल्य तिर्न बाध्य छन्।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा चालु आर्थिक वर्षमा ३० हेक्टर जमिनमा तीन सय मेट्रिक टन प्याज उत्पादन गर्ने लक्ष रहेको बताउँछन्। उनले भने,‘ प्याजको बीउ, नर्सरी, कृषि औजार र प्राविधिक ज्ञान कृषकलाई उपलव्ध गराइने छ। केहि बर्षभित्र जुम्लाको प्याज अनेत्र जिल्लामा निर्यात गर्ने वातावरण बनाइनेछ।’

जुम्लाको चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिकाको  र सिँजा क्षेत्र प्याज उत्पादनका लागि अनुकुल क्षेत्र मानिएको छ। जुम्लामा एक सय नौ हेक्टर जमिनमा प्याज खेती गरिन्छ। जसमा एक सय ६६ मेट्रिक टन प्याज उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्ला बताउँदछ। यहाँ उत्पादन हुने प्याजले बर्षका ६ महिना धान्छ। तर प्याजको उचित भण्डार र बजारीकरण नहुँदा कुहिने,सुक्ने र खेर जाने गरिरहेको छ। हिउँदमा भारतिय प्याजले धान्दै आएको थियो। अहिले चाइनिज प्याज हाबी छ।

प्याज जुम्लाका एक नगरपालिकासहित ८ वटै स्थानीय तहमा फल्छ। अहिले प्याजको मुल्यलाइ मध्येनजर गर्दै जुम्लाबासीले प्याज खेतिका लागि अनुदानका कार्यक्रमअघि बढाउन स्थानीय, प्रदेश र संघीय सरकारसंग माग गरेका छन्। प्याजको मूल्य अत्याधिक बढेपछि यहाँका सामान्य परिवारले प्याजको प्रयोग गर्न छाडेका छन्। अहिले अधिकांस कर्णालीमा चल्ने मालबहाक गाडीले प्याज बोकिरहेका छन्।

प्रकाशित: ४ पुस २०७६ ०५:१७ शुक्रबार

प्याज निर्यात