अर्थ

कृषिको सम्भाव्यता अध्ययन गर्न जापानी टोली नेपालमा

काठमाडौं – नेपालमा कृषि तथा व्यापार क्षेत्रमा सम्भाव्यता अध्ययन गर्न एक जापानी टोली आएको छ। उक्त टोलीले कृषि र व्यापार क्षेत्रको सम्भाव्यताबारे सोमबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग छलफल गरेको छ।

जापानी टोली नेता मिकियो टबाटाले नेपाल र जापानबीच कृषि तथा व्यापारको विषयमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘जापान र नेपालबीच कृषि क्षेत्रमा भएका अनुभव साटासाट गरिनेछ,’ उनले भने, ‘कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा फिल्ड तहमै सहयोग र सहकार्यका सम्भाव्यता खोजी गर्न हामी नेपाल आएको हौं।’

टबाटाले कसरी नेपालमा जापानी लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ र लगानी आकर्षणमा रहेका व्यवहारिक कठिनाइ पहिचान गरी त्यसलाई सहज बनाउन सकिन्छ भन्नेमा महत्वपूर्ण सुझाव नेपाली निजी क्षेत्रबाट आफूले खोजेको पनि जानकारी दिए। 

जापानी टोलीमा लगानीकर्ता, सरकारका प्रतिनिधि, विज्ञ समेतको सहभागिता छ। यसै विषयमा कृषि क्षेत्रका विज्ञको सहभागितामा कात्तिक २७ गते काठमाडौंमा बृहत् कार्यक्रम आयोजना हुनेछ। 

नेपाल बसाइका क्रममा प्रतिनिधिमण्डलले सरकार, निजी क्षेत्र र कृषि क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि तथा नेपालबाट जापानमा व्यापार, व्यवसाय गरिरहेका उद्यमी व्यवसायीसँग छलफल गरी आफ्ना सुझाव पेस गर्नेछ।

कार्यक्रममा जापानी टोलीको स्वागत गर्दै महासंघका महानिर्देशक धरणीधर खतिवडाले नेपालमा कृषि क्षेत्रको विकासमा जापानी प्रविधि तथा लगानी आकर्षण गर्न सके कृषि क्षेत्रले ठूलो फड्को मार्न सक्ने बताए। ‘यसबाट दुवै देश लाभान्वित हुन सक्नेछन्,’ उनले भने, ‘जापानी अनुभव नेपालका लागि लाभदायक हुनेछ।’

महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषि क्षेत्रमा अपार सम्भावना रहेकाले नेपालमा लगानीको राम्रो वातावरण रहेको सन्देश जापानी लगानीकर्तासम्म पु¥याउन टोलीलाई आग्रह गरे। पर्याप्त उर्वर भूमि, सस्तो श्रमशक्ति समेत रहेकाले कृषि क्षेत्रमा लगानी गर्दा छोटो समयमै धेरै फाइदा उठाउन सकिने हुँदा निर्धक्क भएर लगानी गर्न सकिने अवस्था रहेको उनको भनाइ छ।  

 

प्रकाशित: २६ कार्तिक २०७६ ०२:४० मंगलबार

कृषि_तथा_व्यापार सम्भाव्यता