अर्थ

भारतले गरायो अघोषित रुपमा नाका बन्द

नेपालगन्ज– भारतले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका अघोषित रुपमा बन्द गराएको छ। यसअघि गरिएको सीमा नाका बन्दबारे नेपाली सुरक्षाकर्मीलाई पूर्व जानकारी गराउँदै आएकोमा शनिबार बिहानबाट एक्कासी सीमा बन्द गरिएको हो। ईलाका प्रहरी कार्यालय जमुनाहाले शनिबार बिहान ६ बजेदेखि बन्द रहेको सीमा नाका बेलुकासम्म पनि पूर्ण रुपले नखुलेको जनाएको छ। 

कार्यालयका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक(सई) माधव रिजालले भारतले एक्कासी नाका बन्द गराएको बताए। ‘बिहान ६ बजेदेखि बन्द भएको नाकामा दिनभर आवत–जावत ठप्प भयो,’ उनले नागरिकसँग भने ‘बेलुकीपख चाहीँ केही गाडीलाई मात्र छाडियो, सर्बसाधारणका लागि आवत–जावत भने बन्द यथावत छ।’ नेपालतर्फ रहेका करिब अढाई सय वटा भारतीय नम्बरका ट्रकलाई सीमा पार गर्न अनुमति दिएको र भारतको रुपैडिहातर्फ रोकिएका ४५ वटा नेपाली ट्यांकरलाई भित्र्याइएको प्रहरी नायव निरीक्षक रिजालले जानकारी दिए। 

उनले थपे, ‘भारतले सीमा बन्द गराएको विषयमा हामीलाई आधिकारिक जानकारी छैन।’ भारतको अयोध्यामा राम मन्दिर र बाबरी मस्जिद विवाद प्रकरणबारे सुरक्षा सर्तकता स्वरुप सीमा बन्द गरेको हुनसक्ने नेपाली सुरक्षाकर्मीले अनुमान गरेका छन्। 

उक्त विवादमा त्यहाँको सर्वोच्च अदालतले शनिबार निर्णय सुनाउँदै जमिनबारे मुस्लिम पक्षको दाबीलाई खारेज गर्दै हिन्दु पक्षलाई जमिन दिन फैसला सुनाइसकेको छ। भारतले पछिल्लो समयमा गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध नेपालगन्जमा बिरोध तथा प्रदर्शन भएका छन्। कतिपयले सोही विरोधलाई लिएर भारतले अघोषित नाका बन्द गराएको हुन सक्ने आशंका पनि गरेका छन्। 

प्रकाशित: २३ कार्तिक २०७६ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App