अर्थ

आम्दानीको स्रोत बन्यो इटालियन स्याउ

जुम्ला - जुम्ला चन्दननाथ नगरपालिकाका तिलक बुढ्थापा चन्दननाथ मन्दिरको जग्गामा रोपिएका इटालियन स्याउ भिœयाउन व्यस्त छन्। उनी फलेको स्याउ टिप्ने, स्याउ खरिद गर्ने व्यापारीलाई स्याउ देखाउने र बेच्ने काममा व्यस्त छन्।

तीन वर्ष अघिदेखि जुम्लामा सुरु भएको इटालियन जातको स्याउखेतीप्रति आकर्षण बढेपछि उनको व्यस्तता पनि बढेको छ। ‘नयाँ जातको स्याउ भएकाले हेर्ने पनि आउँछन्, स्वाद लिने पनि आउँछन्,’ उनले भने, ‘इटालियन स्याउखेतीबारे इच्छुक किसान पनि स्याउ बगैँचामै पुग्छन्।’

जुम्लामा रेड, गोल्डेन, रेड चिफ र फुजी जातको इटालियन स्याउ खेती भइरहेको छ। सदरमुकाम खलंगाको केन्द्रमै इटालियन स्याउको खेती गरिरहेकाले अवलोकनकर्ताको पनि भीड नै लाग्छ। जुम्ला एग्रोफर्मले स्याउखेती गरेको बगैँचामा उनी संरक्षकको काम गरिरहेका छन्।

बगैँचामा दुई हजार सात सय स्याउका बिरुवा उमारिएको थियो। जसमध्ये दुई हजार दुई सय स्याउका बिरुवाले फल दिएका छन्। ‘एक बिरुवामा ३२ केजीसम्म स्याउ फल्यो,’ उनले भने, ‘हामीले दस केजीभन्दा बढी स्याउ फल्न दिएनौं। बढी स्याउ फलाउन खोज्दा बोटको संरक्षण गर्न नसकिने देखियो।’

जुम्ला चन्दननाथ नगरपालिका–१० का सुशील देवकोटाले चन्दननाथ भैरवनाथ गुठी समितिको १० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर इटालियन जातको स्याउखेती गर्दै आएका छन्। यो जातको स्याउ जुम्लाको हावापानी सुहाउँदो छ। अहिले दुर्गम गाउँमा पनि इटालियन जातको स्याउको खेती परीक्षण भइरहेको छ। देवकोटाका अनुसार एक सय ५० रुपैयाँ प्रतिकेजीमा स्याउ बिक्री भइरहेको छ। हेर्दैमा आकर्षक, स्वादमा गुलियो र कडा प्रकारको भएकाले धेरै समयसम्म राख्न सकिन्छ।
‘यो स्याउको माग बढ्दो छ। स्याउखेतीमा मिहिनेत धेरै छ। सम्भावना पनि राम्रै छ,’ उनले भने। उनले एक हजार तीन सय स्याउका बिरुवा रोपेका छन्। ‘ए’ र ‘बी’ ग्रेडको स्याउ बजारमा लैजाने गरिएकोमा ‘सी’ ग्रेडको स्याउको चाना बनाउने र विभिन्न ब्रान्डी बनाएर बजार लैजाने गरिएको उनी बताउँछन्।

यो स्याउ बिक्रीका लागि आफ्नै प्रकारको स्टिकर छ। प्याकेजिङ र लेबलिङ पनि छ। यो स्याउको खेती जुम्लाको गुठीचौर र तातोपानी गाउँपालिकामा पनि गरिएको छ। बर्सेनि १० टनसम्म इटालियन स्याउ उत्पादन हुने गरेको किसान बताउँछन्।

जुम्लाको स्थानीय स्याउ भदौमा टिप्दै आएकोमा इटालियन जातको स्याउ असोज कात्तिकमा मात्र टिप्न उपयुक्त मानिन्छ। ‘दसैंमा जुम्ली स्याउले बजार लिन्छ,’ देवकोटाले भने, ‘भाइटीकामा इटालियन स्याउले बजार पाउँछ।’ यो स्याउ रोपेको एक वर्षभित्र फल दिने भएकाले किसान यो स्याउप्रति आकर्षित हुन थालेका छन्।

स्थानीय स्याउले बिरुवा रोपेको तीन÷चार वर्षपछि मात्र फल दिन्छ। ‘ए’ ग्रेडको स्याउ बगैँचामै एक सय पचास रुपैयाँ केजी र ‘बी’ ग्रेडको स्याउ प्रतिकेजी एक सय रुपैयाँमा बगैँचामा किनबेच भइरहेको छ।  जुम्ली स्याउ प्रतिकेजी पचास रुपैयाँमा बिक्री भएको थियो। यो थोरै क्षेत्रफलमा पनि धेरै बिरुवा अटाउन सक्ने प्रकारको स्याउ हो।

प्रकाशित: २६ आश्विन २०७६ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App