अर्थ

जर्मन–नेपाल व्यापारिक सम्मेलन शुरु

काठमाडौं– नेपालमा जर्मनीको लगानी अभिवृद्धि गराउन पहिलो पटक काठमाडौँमा जर्मन–नेपाल व्यापारिक मञ्चको सम्मेलन शुरु भएको छ। सम्मेलन लगानी बोर्ड, जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजको संयुक्त आयोजनामा भएको हो।

जर्मनको कोलोन नगरका उपप्रमुख हान्स वेयरनर ब्रार्चको नेतृत्वमा आएको १५ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलसहित जर्मनीको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजना तथा उद्योगी व्यवसायीको सहभागिता रहेको छ।

सम्मेलनमा नेपालका लागि जर्मनी राजदूत रोलाल्ड सेफरले राजनीतिक स्थायित्वसँगै नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्न थालेकाले यहाँ लगानी र व्यापारको प्रसस्त सम्भावना रहेको बताए। 

उनले भने,‘विकास पूर्वधार, सांस्कृतिक आदानप्रदान र पर्यटनका क्षेत्रमा साझेदारी बढाउन सकिनेछ। यसमा निजी व्यवसायले आयाम थप्नेछ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारले वैदेशिक लगानी आकर्षित गर्न मौजुदा कानून परिमार्जन, नयाँ कानूनको तर्जुमा गर्नुका साथै संस्थागत व्यवस्था गरेकाले लगानीको अवसर प्रशस्त रहेको बताए।

उनले नेपाली वस्तु निर्यातको हिसाबले जर्मनी तेस्रो ठूलो देश रहेको उल्लेख गर्दै सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा जर्मनीबाट ठूलो सख्यामा पर्यटक आगमन हुने अपेक्षा व्यक्त गरेका छन्।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानी आकर्षित गर्न सरकारले उपयुक्त वातावरण निर्माण गरेको बताए।

लगानी सम्मेलनले पहिचान गरेका १५ वटा आयोजनालाई कार्यान्वयन गर्न सकिएमा मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ। सम्मेलन भोलि बिहीबारसम्म सञ्चालन हुनेछ। रासस 

प्रकाशित: १५ आश्विन २०७६ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App