अर्थ

भारतले प्याज निर्यातमा रोक लगायाे

काठमाडौं – भारत सरकारले उत्पादनमा कमी आएका कारण प्याज निर्यातमा रोक लगाएको छ। यसबाट नेपाली भान्छा पनि प्रत्यक्ष प्रभावित हुने भएको छ।

भारतको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बजारमा प्याज अभाव भएको भन्दै आइतबार तत्काललाई निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। भारतमा अहिले प्याजको प्रतिकिलो खुद्रा मूल्य ६० देखि ८० भारतीय रुपैयाँसम्म पुगेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार स्थानीय माग धान्न नसकेका कारण निर्यातमा प्रतिबन्ध लगाइएको हो। केही वर्षअघि प्याजको मूल्य चर्केपछि भारतको तत्कालीन सरकार असजिलोमा परेको थियो।  

नेपाली भान्छा पनि धेरै हदसम्म भारतीय प्याजमा निर्भर छ। नेपालमा अहिले प्याजको मूल्य छोइनसक्नु भइसकेको छ। भारतबाट प्याज ल्याउन नपाएपछि मूल्य अझै अकासिने पक्का छ।

भन्सार विभागका अनुसार मुलुकमा वार्षिक चार अर्बभन्दा बढी मूल्यको प्याज आयात हुन्छ। प्याजको माग बढी हुने पर्वका बेला भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालीको दसैं पनि प्याज बिनाको खल्ले बन्ने भएको छ।

प्रकाशित: १३ आश्विन २०७६ ०३:०३ सोमबार

प्याज अभाव निर्यातमा_रोक