अर्थ

पत्रकार बेल्वासे पुरस्कृत

काठमाडौं – डा. हरिहरदेव पन्त फाउन्डेसनले पत्रकार विष्णु बेल्वासेलाई हरिहरदेव पन्त स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालक समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले शनिबार बेल्वासेलाई उक्त पुरस्कार हस्तान्तरण गरे।

बेल्वासे दुई दसकदेखि पत्रकारिता र विगत एक दसकदेखि आर्थिक पत्रकारितामा संलग्न छन्। पुरस्कारको राशी ५० हजार रुपैयाँ छ। उनलाई सम्मान–पत्र पनि प्रदान गरिएको छ।

लघुवित्तका पिताका रूपमा मानिने पन्तको स्मृतिमा फाउन्डेसनले प्रत्येक वर्ष एकजना आर्थिक पत्रकार वा संघ–संस्थालाई पुरस्कृत गर्दै आएको छ।

आर्थिक विकास तथा गरिबी न्यूनीकरणमा योगदान पु-याएका हरिहरदेव पन्तले नेपालमा सर्वप्रथम औपचारिक रूपमा बिनाधितो लघुवित्त सुरु गरेका थिए।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक हरिहरदेवको चौथोे स्मृति दिवसमा लघु उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने सातै प्रदेशका एक–एक जना उद्यमीलाई पनि पुरस्कृत गरेको छ।

संस्थाद्वारा स्थापित हरिहरदेव पन्त लघुउद्यमशील पुरस्कार प्रदेश १ की पनिया चौधरी र प्रदेश २ की विद्यावतीदेवी साह, प्रदेश ३ की शिवकुमारी केसी र गण्डकी प्रदेशकी शोभा कुमारीले पाए।

त्यसैगरी, प्रदेश ५ की सुरमी मल्लाह, कर्णाली प्रदेशकी खैरुन निशा र सुदूरपश्चिम प्रदेशकी ज्ञानीदेवी चौधरीले उक्त पुरस्कार पाए।

प्रकाशित: २२ भाद्र २०७६ ०२:३१ आइतबार

पत्रकारिता पुरस्कार