अर्थ

हुम्लामा पर्यटन महोत्सव

काठमाडौं – आगामी असोज ६ र ७ गते हुम्लाको एल्वाङमा दोस्रो क्रस बोर्डर महोत्सव हुने भएको छ। नाम्खा गाँउपालिकाको आयोजनामा हुने उक्त महोत्सवलाई कैलाशको संगमको रुपमा लिइएको छ। दुई दिनसम्म चल्ने महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभूषा र त्यहाँको रहनसहन तथा भारतीय र चिनियाँ संस्कृति अवलोकन गर्न सकिने जनाइएको छ। महोत्सवबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उक्त स्थानलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनाउन महोत्सव गर्न लागेको जानकारी दिइयो।

कैलाश मानसरोवर आउजाउ गर्ने पर्यटकले हुम्लाको उक्त स्थानलाई लाइफटाइम एचिभमेन्टको रुपमा लिन सक्ने आयोजकको दाबी छ। कैलाश मानसरोवरको नजिक तीन देशको विभिन्न गतिविधि हुने बताइएको छ।

गाँउपालिकामा पर्यटनलाई प्रश्रय दिने थुप्रै विषय वस्तु रहेको बताउँदै आयोकजले महोत्सवमा स्थानीय खाना, त्यहाँको संस्कृति, धार्मिक तथा सांस्कृतिक विषयवस्तुका साथै भौगोलिकताबारे जानकारी गराउने जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उक्त स्थानलाई चिनाउँदा पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने र पर्यटकले पदयात्राको आनन्द पनि लिन सक्ने बताइएको छ। पर्यटन नै हुम्लाको मुख्य आधार बन्न सक्ने तथा त्यहाँको संस्कृति, परम्परा, समाजिक तथा भौगोलिक विविधताबारे महोत्सवमा जानकारी गराइने छ। महोत्सव नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार, स्थानीय सरकार लगायतको सहभागितामा सञ्चालन हुने छ।

प्रकाशित: १६ भाद्र २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App