अर्थ

रसुवाका पर्यटकीय क्षेत्रमा स्वदेशी पर्यटक बढे

जिल्लाको पर्यटकीय तथा धार्मिकस्थल गोसाइँकुण्ड जान लागेका पर्यटक। तस्बिरः हिमनाथ/नागरिक

रसुवा – रसुवाका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी पर्यटक आउने क्रम बढेको छ। जिल्लाको लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढीलगायतका क्षेत्रमा स्वदेशी पर्यटकको आगमन बढेको छ।

केही वर्ष पहिलेसम्म विदेशी पर्यटक मात्र देखिने पर्यटकीय क्षेत्रहरूमा अहिले नेपाली पर्यटक बढी भेटिन्छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार गएको साउन महिनामा मात्र पाँच हजार चार सय ९० नेपाली निकुञ्ज प्रवेश गरेका छन्।

निकुञ्ज क्षेत्र घुम्न आउने नेपाली पर्यटकले सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। शुल्क तिरेर आउनेमा डेढ सय नेपाली पर्यटक छन्। बाँकी मेलाका लागि आएका हुन्। साउन महिनामा दुई सय १२ विदेशी र तीनजना सार्क राष्ट्रका पर्यटक आएका निकुञ्जको तथ्यांक छ।

यो धार्मिकस्थल गोसाइँकुण्ड जाने तीर्थयात्रीसहितको संख्या हो। चालू आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार पाँच सय ५९ नेपाली आएका थिए। विदेशीको तुलनामा नेपालीले खर्च गर्ने दर पनि बढ्दै गएको होटल व्यवसायी निशान गजुरेलले बताए। ‘घुम्नका लागि आएका नेपालीले होटलमा बार्गेनिङ गर्दैनन्,’ उनले भने, ‘तर सीमित विदेशी पर्यटकबाहेक अरूले हरेक कुरामा बार्गेनिङ गरिरहेका हुन्छन्।’

२०७५ असोज २९ गतेदेखि निकुञ्जले तथ्यांक राख्न सुरु गरेको हो। निकुञ्जभित्र अध्ययन, अवलोकन र अनुसन्धानका लागि आउने नेपालीले एक सय रुपैयाँ र भरियाले २५ रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। शुल्क लिन थालिएपछि तथ्यांक राख्ने कार्य सुरु गरिएको हो।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ लाङटाङ, दोस्रोमा गोसाइँकुण्ड र तेस्रोमा तामाङ सम्पदामार्ग रहेका छन्। रसुवामा स्वदेशी पर्यटक बढेपछि होटल व्यवसायी उत्साहित बनेका छन्।

केही वर्ष अघिसम्म नेपाली राख्न नरुचाउने होटल व्यवसायी अहिले नेपाली आउँदा उत्साहित हुने गरेका छन्। विदेशी पर्यटकले भन्दा नेपालीले बढी खर्च गर्ने गरेका व्यवसायी बताउँछन्।

केही वर्ष पहिलेसम्म मेलापर्वको अवसरका मात्र पर्यटक भित्रिने गरे पनि अहिलेका युवापुस्ता अन्य समयमा घुमफिर गर्न मन पराउने भएका कारण पनि बाह्रै महिना पर्यटक आउनथालेका निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए।

सामूहिकरूपमा घुम्न मन पराउने युवाहरू न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन्। जिल्लामा सञ्चालित होटल व्यवसायीले स्वदेशी पर्यटकबाट पनि राम्रो आम्दानी गरिरहेका छन्।

स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन्। जसका कारण पर्यटन व्यवसायी र होटल व्यवसायीलाई फाइदा पुगेको छ। यो समयमा धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ ऐतिहासिक स्थल रसुवागढी, कालोगाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी छन्।

पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक स्थल हुनुका साथै विश्वकै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रिने गरेका छन्। जिल्लामा साना–ठूला गरी डेढ सयको हाराहारी होटल सञ्चालनमा रहेका छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App