अर्थ

महिला उद्यमीलाई विशेष सहयोग गर्नुपर्छः प्रदेश प्रमुख कोइराला

मकवानपुर– प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले महिला उद्यमीलाई सरकार र निजी क्षेत्रले बिशेष सहयोग गर्नुपर्ने बताएकी छिन्। हेटौंडामा बिहीबार श्रृजनशील महिला उद्यमी मेलाको उद्घाटन गरेपछि उनले देशको अर्थतन्त्र विकास गर्न महिला उद्यमीलाई थप प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

‘स्वदेशी उद्योगको उत्पादन र विकासमा यस्ता मेलाले महत्वपूर्ण भुमिका खेल्छ,’ उनले भनिन्। मेलाले आफूमा उर्जा थपिएको महसुस भएको बताउँदै उनले हस्तकलाले देशको परिचय गराएकाले त्यसमा लगानी बढाउनुपर्ने बताइन्। ‘मेलामा आउँदा म आफैलाई उर्जा महसुस भएको छ,’ उनले भनिन्, ‘हस्तकलालाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्नुपर्छ।’

मेला, महोत्सवले महिला सशक्तिकरणसँगै आर्थिक विकासमा सहयोग पुग्ने भन्दै प्रमुख कोइरालाले महिलाहरुलाई आत्मबल र प्रेरणा दिन मेलाले भुमिका खेल्ने बताइन्। महिलाहरुको मेलामा पुरुषहरुको उपस्थिती कम भएकोमा गुनासो गर्दै उनले भनिन्, ‘महिला सशक्तिकरणका लागि पुरुषहरुले पनि अनिवार्य साथ र सहयोग गर्नुपर्छ।’

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा, नेपाल उद्योग वाणिज्य संघकी केन्द्रीय सदस्य राजकुमार न्यौपाने, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल, महिला सिर्जनशील केन्द्र काठमाडौंकी निलु थापा लगायतले महिला उद्यमीलाई उत्प्रेरणा जगाउँने र बजार विस्तार गर्ने भएकाले मेला लाभदायक रहेको भन्दै थप व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह पनि गरे।

महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्ने उदेश्यले मकवानपुर महिला उद्यमी व्यवसायी संघ र महिला श्रृजनशील केन्द्र काठमाडौंले मेला आयोजना गरेको हो। तीन दिने मेलामा ४० मध्ये ३० वटा स्टलमा घरेलु उत्पादनलाई प्राथमिकता दिइएको मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष सुशीला पाण्डेले बताइन्।

प्रकाशित: ५ भाद्र २०७६ १४:२३ बिहीबार

महिला_उद्यमी सरकार निजी_क्षेत्र अनुराधा_कोइराला प्रदेश_३_प्रमुख