अर्थ

मेलम्चीको अघि बढाउन विज्ञ सल्लाहकार समूह गठन

काठमाडौं– खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव सल्लाह र परामर्श दिने उद्देश्यले पूर्व सचिवहरु सम्मिलित एक विज्ञ सल्लाहकार समूह गठन गरेको छ। 

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले  खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्व सचिवहरुको समूह गठन गरेको हो। पाँच सदस्यीय विज्ञ समूहमा पूर्व सचिवहरु बीरेन्द्र बहादुर देउजा, हरेराम कोइराला, सुमन प्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहेको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए। 

प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ। 

मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताए। 

प्रकाशित: २ भाद्र २०७६ १४:३६ सोमबार

मेलम्ची_खानेपानी_आयोजना विज्ञ_सल्लाहकार_समूह खानेपानी_मन्त्रालय