अर्थ

रसुवागढी नाका जाेड्ने सडककाे बजेट स्वीकृत

रसुवा – रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ स्याफ्रु सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले तीन अर्ब ५७ करोड रुपैयाँको स्वीकृति मागेकामा मन्त्रालयले दुई अर्ब ६१ करोडको मात्रै स्वीकृति दिएको छ। १६ किलोमिटरको डबल पिच गर्नका लागि यो बजेट पर्याप्त छैन।

स्तरोन्नति कार्य पूरा गर्नका लागि योजनासँग भएको एक अर्ब ५८ करोड रुपैयाँ त्यहाँ खर्च गरिने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। अहिले योजनासँग रहेको रकम मुआब्जासहितको हो। योजना प्रमुख भण्डारीले आगामी मंसिरमा ठेक्का सम्झौता हुने बताए।

सम्झौता भएको तीन वर्षभित्र स्तरोन्नतिको काम सकिने लक्ष्य राखिएको छ। हाल यो सडक पहिरोका कारण अवरुद्ध छ। योजनाले अर्थसँग सडक खण्डको तीन स्थानको ठूलो पहिरो नियन्त्रणका लागि पनि बजेट माग गरेको थियो तर यो स्वीकृत भएन्।

गल्छी मैलुङ खण्डको ५०% भौतिक प्रगति
गल्छी मैलुङ सडक खण्डको आधा काम सकिएको छ। योजनाका अनुसार हालसम्म यो खण्डको ५० प्रतिशत भौतिक प्रगति भएको छ। गल्छीदेखि मैलुङसम्म पिचको काम रोकिएको छ। अहिले सडकमा कटिङ गर्ने, नाला बनाउने र वाल लगाउने काम भइरहेको छ।

सडक खण्डअन्तर्गत नुवाकोटतर्फ जग्गाको मूल्य निर्धारण गरिएको भए पनि मुआब्जा वितरण गर्न बाँकी छ। सरकारले जग्गा किन्ने भएकाले लालपूर्जा नआउँदासम्म मुआब्जा वितरण गर्न नसकिने भएकाले ढिलाइ भएको उनको भनाइ छ। ‘जग्गा सरकारको नाममा ल्याउन समय लाग्छ,’ उनले भने, ‘आफ्नो नाममा जग्गा नआई मुआब्जा दिने कुरा भएन।

स्याफ्रु–रसुवागढी खण्डको जग्गाको लगत सुरु
स्याफ्रु रसुवागढी सडक खण्डको जग्गाको लगत लिने कार्य सुरु भएको छ। चीन सरकारले आगामी अक्टोबरदेखि सडकको स्तरोन्नतिको काम सुरु गर्ने भएकाले लगत लिने काम सुरु गरिएको हो। लगत संकलन गरेपछि सडक खण्डमा पर्र्ने भौतिक संरचनाहरू हटाउन सुरु गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

चिनियाँ टोली आउनुअघि विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घरटहरा हटाउने काम सम्पन्न गर्नुपर्छ। यसका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको नेतृत्वमा लाङटाङ राष्ट्रिय निकुञ्ज, मालपोत कार्यालय, नापी कार्यालय, सम्बन्धित गाउँपालिका र सहरी विकास तथा भवन निर्माण सब–डिभिजन कार्यालयले काम सुरु गरेका छन्।

यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो। स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ।

तियान्जिन म्युनिसिपल इन्जिनियरिङ डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट चाइनाले सडक स्तरोन्नति गर्ने जिम्मा पाएको छ। उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको मैलुङ स्याफ्रु सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (०७५/७६–०७७/७८) मा उल्लेख भएअनुसार आव ०६१/६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना ०७५/७६ भित्र निर्माण तथा स्तरोन्नति भएको हुने उल्लेख छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन्। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न पर्दैन।

मैलुङ–स्याफ्रुबेंसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ देखि पासाङ ल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: १ भाद्र २०७६ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App