अर्थ

राइड सेयरिङसम्बन्धी कानुन माग

काठमाडौं – पठाओ नेपाल प्रालिले सरकारसँग प्रविधिमा आधारित राइड सेयरिङसम्बन्धी आवश्यक कानुन निर्माण गर्न माग गरेको छ। प्रालिले मंगलबार पत्रकार सम्मेलन गरी प्रविधिमा आधारित सेवालाई व्यवस्थित बनाउन आवश्यक कानुन बनाउन अनुरोध गरेको छ।

प्रालिका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले प्रविधिमा आधारित यातायात सेवाको लागि आवश्यक पर्ने कानुन बनाउन आग्रह गरेका छन्। ‘सूचना प्रविधिमा आधारित सेवालाई व्यवस्थित गर्न आवश्यक भइसक्यो। त्यसैले आवश्यक व्यवस्थापनको लागि कानुनी व्यवस्थापन गर्न अनुरोध गर्छाैं,’ उनले भने, ‘नयाँ प्रविधिमा आधारित इनोभेटिभ बिजनेस पहिला र कानुनपछि आउने भएकाले तत्कालै आवश्यक कानुनी दायरामा ल्याउन जरुरी भइसक्यो।’

क्षेत्रीय निर्देशक बस्न्यातले प्रविधिमा आधारित यातायात सेवाको स्पष्ट कानुनी प्रावधान र सयंन्त्र निर्माण गर्न बारम्बार पहलकदमी गर्दै आएको जनाएको छ। ‘सरकारले समयमा नै कानुन नबनाउँदा हामीले अनावश्यक समस्या भोग्नुपरेको छ,’ उनले भने, ‘त्यसैले नयाँ प्रविधिमा आधारित यातायात सेवालाई व्यवस्थित गराउन जरुरी भइसक्यो।’

पठाओले गत शुक्रबारदेखि एप्लिकेसनमा आधारित कारलाइट सेवा सुरु गरेको थियो। पठाओले कारलाइट सेवाको बुकिङ बापत थप एक सय रुपैयाँ लिने कुराको विरोध भइरहेको छ। मंगलबाको र पत्रकार सम्मेलनमा पठाओले बुकिङ चार्जबापत एक सय रुपैयाँ लिएको स्पष्टीकरण दिएको छ। पठाओका अनुसार मिटर अन गर्दाको १४ रुपैयाँ, तीन किलोमिटरसम्मको दुरीसम्म ग्राहकलाई लिन जानुपर्दाको अतिरिक्त शुल्क, इन्टरनेट र फोन शुल्क बापत उक्त शुल्क लिइएको हो।

प्रकाशित: २९ श्रावण २०७६ ०२:२८ बुधबार

कानुन_निर्माण राइड_सेयरिङ