अर्थ

निर्यात बढाउने नीतिमा सघाउन आग्रह

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सरकारको नीतिमा सघाउन निजी क्षेत्रसँग आग्रह गरेका छन्। जोखिम मोलेर भए पनि देशको अर्थतन्त्रलाई दिगो बनाउन सरकारले आन्तरिक उत्पादनलाई दिएको सुविधा उपयोग गर्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

बिहीबार राजधानीमा भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन सत्रमा बोल्दै मन्त्री खतिवडाले सीमा क्षेत्रमा हुने चोरी, पैठारीलाई नरोकेसम्म भन्सार दर जति घटाए पनि समस्या समाधान नहुने जानकारी गराए।

सीमानाकामा रहेका भन्सारलाई चुस्तदुरुस्त राख्न सरकार तयार रहेकोे बताउँदै उनले सीमा प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी गराउँदै राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सरकारले कानूनी एवं संरचनागत विकासमा जोड दिएको बताए।

‘अन्तर्राष्ट्रिय  सिमानाको हरेक १० किलोमिटरमा भन्सार बनाउन सम्भव नरहेकाले सर्वसाधारणको आवतजावतमा कुनै बाधा नहुने गरी सामान आयातमा कडाइ गर्नु आवश्यक छ,’ अर्थमन्त्री खतिवडाले भने। मुलुकको राष्ट्रिय पुँजी निर्माण तथा राष्ट्रिय उद्योगको जोगेर्ना गर्न आवश्यक रहेको बताउँदै उनले आधुनिक प्रणालीबाट व्यापार सम्बन्ध बढाउनेमा सरकार लागेको उनले जनाए।

‘सुस्त गतिमा भइरहेको औद्योगिकीकरणलाई चुस्त गतिमा अगाडि बढाउन सार्वजनिक निजी साझेदारी आवश्यक छ,’ उनले भने, ‘राज्यले लगानीको वातावरण बनाएको छ। एकद्वार प्रणाली ल्याउने तयारी भइरहेको छ। कर सुविधा प्राप्त क्षेत्रमा लगानी गरेर उद्योग र व्यवसायलाई बढावा दिनेतर्फ लाग्नुहोस्, राष्ट्रिय अर्थतन्त्र प्रवद्र्धनमा हामी सघाउन तयार छौं।’  

आयातमा मात्र जोड दिँदा भन्सार राजस्व कम उठेको जानकारी गराउँदै देशभित्र उपलब्ध नरहेको कच्चा पदार्थमात्र आयातको दायरामा ल्याई नेपालमै उत्पादनको वातावरण बनाउन निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने अर्थमन्त्रीको भनाइ छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:३५ शुक्रबार

निर्यात_बढाउने निजी_क्षेत्र आन्तरिक_उत्पादन