अर्थ

शेयर बजारः नेप्से परिसूचक थामियो

काठमाडाैं– धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक उकालो लाग्नेक्रम आज थामिएको छ। बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ विन्दुमा पुगेको हो।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २७३.८४ विन्दुमा झरेको छ। नेप्से ओरालो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ। कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर ४१ करोड १३ लाख ६९ हजार २९९ रुपैयाँ मूल्यमा खरीद बिक्री भए।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ। त्यसमा वित्त ३.०३, उत्पादन ५.३९ र लघुवित्त ०.१८ विन्दुले बढेको छ। यस्तै बैंकिङ १.३५, होटल २५.८८, विकास बैंक ४.३६, जलविद्युत् ७.५८, अन्य ०.७४, जीवन बीमा २७.६७ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ। स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ। सो बैंकले पाँच करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ बराबरको कारोवार ग-यो।

यस्तै शिवम् सिमेन्ट दुई करोड ६१ लाख ५५ हजार ३६२ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स दुई करोड ४५ लाख ९७ हजार १२ रुपैयाँ, नेपाल बैंक लिमिटेड दुई करोड २८ लाख नौ हजार ६१५ रुपैयाँ, प्रभु बैंक एक करोड ७९ लाख ६६ हजार ३३९ रुपैयाँ र एनआइसिएशिया बैंकको एक करोड ३० लाख ५१ हजार ८८४ रुपैयाँ  बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।

यस्तै नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले ९.२४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.९४, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ४.८९, दिव्येश्वरी हाइड्रो ४.२३ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६३ प्रतिशतले कमाए। त्यस्तै मेरा माइक्रोफाइनान्स वित्तीय संस्था ६.८१, नविल इक्विटी फण्ड ५.५७, एशियन लाइफ इन्स्योरेन्स ३.२९, ज्योति विकास बैंक २.९४ र पाँचथर पावर कम्पनीका शेयरधनीले २.८७ प्रतिशतले गुमाए।रासस

प्रकाशित: २ श्रावण २०७६ १०:५३ बिहीबार

धितोपत्र_बजार नेप्से_परिसूचक शेयर