अर्थ

माहुलीको सेयर मूल्य ८७ रुपैयाँले बढ्यो

काठमाडौं – केही दिनदेखि घटिरहेको सेयर बजारमा आइतबार सामान्य सुधार आउँदा माहुली सामुदायिक माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८७ रुपैयाँले बढेको छ।

यो संस्थाको प्रतिसेयर मूल्य आठ सय ७९ रुपैयाँबाट बढेर अन्तिममा नौ सय ६६ रुपैयाँ पुगेको हो। आइतबार यसको एक हजार ५५ वटा सेयर किनबेच भएका छन्। यसका लागि  २६ पटकसम्म कारोबार भएको थियो। यो संस्थाको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट ब्रेकर लागेको थियो।

यस्तै, आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनी ग्लोबल आइमएई लघुवित्त वित्तीय संस्था बनेको छ। यसको सेयर मूल्य ४० रुपैयाँ घटेको हो। आइतबार यसको प्रतिसेयर मूल्य १२ सय ५० बाट घटेर १२ सय १० मा आएको हो। सेयर मूल्यमा कमी आउनेमा प्रतिशतका आधारमा भने अर्को कम्पनी बनेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजार खुलेको एक घन्टामा नेप्से बढेर १२५२ बिन्दुमा पुगेको थियो। त्यसपछिको एक घन्टामा बजार फेरि दुई बिन्दुले घट्न पुग्यो। अर्को एक घन्टामा बजारमा फेरि केही बढोत्तरी देखिए पनि अन्त्यमा १२४९.४९ मा बन्द हुन पुग्यो। यो बिहीबारको तुलनामा ०.९५ बिन्दुले बढी हो। यस्तै, आइतबार सेन्सेटिभ इन्डेक्समा पनि झिनो सुधार आएको छ। यो सूचक ०.२४ बिन्दुले बढेर २६८.५७ मा पुगेको हो।

आइतबार बाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा कम्पनी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सको सूचक ओरालो लागेका छन्। होटल, विकास बैंक, जलविद्युत्, जीवन बिमा, म्युचुअल फन्ड र अन्य कम्पनीको सूचक बढेको छ।
लगानीकर्ताले असार लागेपछि बैंकको साँवा, ब्याज र कर तिर्न सेयर बेच्न थालेका कारण दोस्रो बजारमा मागभन्दा आपूर्ति धेरै बढेकाले बजार सुधार हुन सकेको छैन।

असारको अन्त्य आइसकेको र लगानीकर्ताले साँवा–ब्याज र कर तिरिसकेका वा तिर्न रकम जोहो गरिसकेकाले आइतबार सेयर बेच्नेको खासै चाप नपर्दा बजार घट्ने क्रम रोकिएको छ। यसले नेप्से परिसूचकमा सामान्य सुधार आएको हो।

आइतबारको कारोबार रकम खासै बढ्न सकेको छैन। यो दिन २८ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, यस दिन १० लाख ४२ हजार ६ सय ४६ कित्ता सेयर बिक्री भएका छन्। यी सेयर किनबेच हुन चार हजार नौ सय २१ पटक कारोबार भएको थियो। 

राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिलाई हेरेर पनि अहिले सेयर बेच्ने र किन्ने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्। राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा वाणिज्य बैंकलाई लक्ष्य गरेर बिग मर्जरको नीति आउन लागेको लगभग पक्कापक्की जस्तै भए पनि यसले बैंकहरुको सेयरमा कस्तो प्रभाव पार्छ भन्ने यकिन हुन सकेको छैन। त्यसैले वाणिज्य बैंकहरुको सेयर खरिद बिक्रीमा खासै चाप पर्न सकेको छैन। बैंक ठूलो हुँदा अनेकौं फाइदा हुने बताइँदै आए पनि सानो र ठूलो बैंकको सेयरले दिने प्रतिफलबारे लगानीकर्ता अन्योलमा देखिन्छन्।

आइतबार सबैभन्दा धेरै सेयर कारोबार नागरिक लगानी कोषको भएको छ। यसको दुई करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको हो। कोषले पुँजी वृद्धि योजना ल्याउन लागेको भन्दै अहिले बजारमा सेयरको मूल्य बढाइएको छ।

प्रकाशित: ३० असार २०७६ ०३:२६ सोमबार

सेयर_बजार सामान्य_सुधार वित्तीय_संस्था