अर्थ

शुक्लागण्डकीको बजेट ८६ करोड

दुलेगौँडा(तनहुँ)– शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।  

चालु बर्षको तुलनामा १७ करोड ९२ लाख ३१ हजार ६ सय ७१ रुपैयाँ बढी बजेट  आगामी बर्षका लागी विनियोजन भएको छ। चालु बर्षमा ६७ करोड  ७५ लाख ८१ हजार २ सय ४ रुपैयाँको बजेट विनियोजन गरिएको थियो। 

नगरपालिकाको आम्दानीमा आन्तरिक स्रोततर्फ राजस्व संकलनबाट दश करोड आठ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ।  राजस्व बाँडफाँडबाट १२ करोड ८३ लाख ७३ हजार ८ सय ७५ रुपैयाँ, संघ सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १४ करोड ७१ लाख रुपैयाँ, सशर्त अनुदान २५ करोड ९३ लाख रुपैयाँ रहेका नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए। 

उनका अनुसार प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान एक करोड २७ लाख ३९ हजार रुपैयाँ, समपुरक अनुदानमा ३ करोड ६० लाख रुपैयाँ, सशर्त अनुदानमा ३० लाख रुपैयाँ रहेको छ।

जिल्ला समन्वय समितिबाट एक करोड ८० लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ता १२ करोड, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ र अघिल्लो बर्षको मौज्दात दुई करोड ७० लाख रुपैयाँ आम्दानी हुने उनले बताए।

खर्चतर्फ चालुमा वडा कार्यलयसहित नगर कार्यपालिका सञ्चालन खर्च आठ करोड २६ लाख ७२ हजार ३ सय ७५ रुपैयाँ, सशर्त खर्चमा कुल ४४ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कुमालले जनाए। 

पुँजीगत खर्चमा आर्थिक बिकासका लागि एक करोड ८७ लाख रुपैयाँ, सामाजिक बिकासमा छ करोड ७४ लाख रुपैयाँ, पूर्वाधार बिकासमा आठ करोड ६१ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापनमा एक करोड दुई लाख रुपैयाँ सुशासन तथा संस्थागत बिकासमा एक करोड ४२ लाख ५७ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ। 

यहाँका १२ वटा वडाका लागी दश करोड ६६ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको कुमालले जानकारी दिए। १२ वटा वडालाई ८१ लाखदेखी ९७ लाख रुपैयाँसम्मको सिलिङ दिएर योजना माग गरिएको थियो। कुमाल भन्छन्, ‘८१ लाख रुपैयाँ सबै वडालाई समान रुपमा विनियोजन गरिएको हो। २० प्रतिशत रकम क्षेत्रफल र जनसंख्याको आधारमा थप गरिएको छ।’

पाँचौ नगरसभाले विधायन समितिको सिफारिसमा दश वटा कानुन स्वीकृत गरेको उपमेयर सविता रसाइलीले बताइन्। आर्थिक ऐन, विनियोजन ऐन, सार्वजनिक खरिद नियमावली,  फोहोरमैला व्यवस्थापन कार्यविधी, टोल बिकास संस्था गठन कार्यविधी,  गौ संरक्षण समिति गठन कार्यविधी, नगर प्रहरी सम्बन्धी कार्यविधी, सम्पती तथा मालपोल (भूमिकर) सम्बन्धी कार्यविधी, निजी जग्गाबाट ढुंगा गिट्टी वालुवा उत्खनन् संकलन तथा  ढुवानी सम्बन्धी कार्यविधी र शिक्षा नियमावली २०७४ लाई संशोधन गरी स्विकृत गरिएको उपमेयर रसाइलीले बताइन्। यस्तै नगरले लेखा समिति समेत गठन गरेको छ। शुक्लागण्डकी–१० का वडासदस्य राजेन्द्र भट्टराई क्षेत्रीे संयोजक रहने गरी पाँच सदस्यीय समिति गठन गरिएको छ।

प्रकाशित: २५ असार २०७६ ०३:३८ बुधबार

शुक्लागण्डकी_नगरपालिका बजेट शिक्षा स्वास्थ्य कृषि_र_पूर्वाधार प्राथमिकता