अर्थ

भारत र बंगलादेशमा बिजुलीको बजार खोज्नुपर्‍यो : इप्पान

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपालमा उत्पादित बिजुली छिमेकी मुलुकमा निर्यात गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ। इप्पानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले नेपालमा उत्पादित बिजुली  किन्न छिमेकी मुलुकहरु इच्छुक देखिएकाले आवश्यक वातावरण बनाउन सरकारसँग माग गरे।

‘नेपालको विद्युत् प्रसारण लाइन व्यवस्थित गरेर नियमित उत्पादन गर्न सके भारतीय पक्ष खरिद गर्न इच्छुक भएको पाइयो,’ उनले भने, ‘सरकारले भारत र बंगलादेशमा जलविद्युत् निर्यात गर्ने प्रस्ताव अघि बढाएर वातावरण बनाउनु आवश्यक छ।’ आफ्नो नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डलले नेपालमा उत्पादन हुने बिजुलीको लागि छिमेकी भारत र बंगलादेशमा बजार खोजी गरेको गुरागाईंले जानकारी दिए। इप्पानको १० सदस्यीय प्रतिनिधिमण्डलले असार ३ देखि ५ गतेसम्म भारत भ्रमण गरेको थियो।

इप्पान टोलीले भारतको विद्युत् मन्त्रालय, सेन्ट्रल इलेक्ट्रिसिटी अथोरिटी, सेन्ट्रल इलेक्ट्रिसिटी रेगुलेसन कमिसन, निजी उत्पादकलगायत सरकारी तथा निजी संघ–संस्थासँग भेटघाट तथा अन्तक्र्रिया गरेको थियो। अध्यक्ष गुरागाईंले नेपालमा उत्पादित बिजुली खरिद गर्न भारत इच्छुक रहेको बताए।

‘नेपालको विद्युत् प्रसारण लाइन व्यवस्थित गरेर नियमित बिजुली उत्पादन गर्न सकेको खण्डमा भारतीय पक्ष खरिद गर्न इच्छुक भएको पाइयो,’ उनले भने, ‘भारतमा उत्पादन हुने कुल बिजुलीमा जलविद्युत्को अंश १४ प्रतिशत मात्रै रहेछ। त्यसैले पनि भारत नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक देखिएको हो।’

उनका अनुसार भारतले निजी प्रवद्र्धकले अध्ययन र विकास गरिरहेको करिब १८ हजार मेगावाट क्षमताको जलविद्युत् आयोजनामा चासो देखाएको छ। भारतीय विद्युत् मन्त्रालयले संशोधन गरेर जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिका र भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमावलीको प्रावधानले पनि नेपालमा उत्पादन हुने बिजुली भारत निर्यात गर्ने बाटो खोल्ने अध्यक्ष गुरागाईंले बताए।

संस्थाका महासचिव आशिष गर्गले इप्पानले निजी क्षेत्रले उत्पादन गरेको बिजुली छिमेकी  भारत र बंगलादेशमा बिक्री वितरणको लागि आवश्यक तयारी गरेको बताए। महासचिव गर्गले भारत र नेपालबीचको संयुक्त संयन्त्रको आगामी बैठकमा नेपालको निजी क्षेत्रबाट उत्पादित बिजुली भारत तथा बंगलादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अघि बढाई भारतको प्रसारण लाइन प्रयोगका लागि आवश्यक पहलकदमी लिन सरकारसँग माग गरे।

इप्पानले सरकारले विद्युत् निर्यात तथा क्षेत्रीय व्यापारसम्बन्धी स्पष्ट अवधारणा बनाउन सरकारलाई सुझाएको छ। संस्थाले नेपालमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न भारतको भूमि प्रयोग गर्नुपर्ने हुनाले नेपाल, भारत तथा बंगलादेशको त्रिपक्षीय संयन्त्र आवश्यक भएको र सोको निर्माण कार्य गर्न सम्बन्धित पक्षसँग वार्ता गर्न अनुरोध गरेको छ।

प्रकाशित: ११ असार २०७६ ०३:३७ बुधबार

ऊर्जा उत्पादित_बिजुली निर्यात