अर्थ

सरकारको नीति कार्यक्रम र टेन्डरको समयसीमा फरक–फरक

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एक वर्षभित्रै मेलम्चीको पानी उपत्यका ल्याउने घोषणा गरेको थियो। तर, मेलम्ची खानेपानी आयोजनाले सरकारको नीति तथा कार्यक्रममा तोकिएको भन्दा तीन महिना धेरै समयसीमा राखेर नयाँ टेन्डर आह्वान गरेको छ।

आयोजनाले मेलम्ची आयोजनाको बाँकी कामलाई १० वटा प्याकेजमा छुट्याएर काम अगाडि बढाउने जनाएको छ। जबकी आयोजनाले गत  जेठ १७ गते मेलम्चीको सुरुङ निर्माण र हेडवक्र्स निर्माणका लागि दुईवटा छुट्टाछुटै बोलपत्र आह्वान गरेको छ। आयोजनाले हेर्डवक्र्सका लागि १५ महिना र सुरुङ सम्पन्न गर्नका लागि एकवर्षे समयसीमा तोकेर टेन्डर आह्वान गरेको छ।

‘मेलम्चीको हेडवक्र्स निर्माण गर्न कम्तिमा १५ महिना लाग्ने देखिन्छ। सोही आधारमा इस्टिमेट गरेर १५ महिनामा सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरेका हौं,’ आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘सुरुङलगायत सबै काम सम्पन्न गर्ने समयसीमा एक वर्ष तोकेका छौं। हेडवक्र्स तयार नभए पनि अस्थायी बाँधमार्फत एक वर्षभित्रै मेलम्चीको पानी उपत्यका ल्याउन सकिन्छ।’

पूर्वसचिव भीमप्रसाद उपाध्यायले सरकारको नीति तथा कार्यक्रमविपरित मेलम्चीको ठेक्का लगाउन लागेको बताए। ‘सरकारले प्राविधिक तथा व्यवहारिक कुराको ख्यालै नगरी एक वर्षभित्रैे मेलम्चीको पानी ल्याउने घोषणा गरेको देखियो,’ उनले भने, ‘ प्राविधिक कामलाई पहिले ठोकुवा गर्नु उचित देखिँदैन।’ उनका अनुसार समयमा काम सम्पन्न नहुने भएकाले आयोजनाले एक वर्षको म्याद थप गरेको हो। सचिव उपाध्यायले सरकारले पर्याप्त तयारी र अध्ययनबिनै नीति तथा कार्यक्रममा समयसीमा तोकेको बताउँछन्। मेलम्ची आयोजनाका प्रवक्ता पन्तले एउटै ठेकेदारबाट काम गराउँदा आलटाल गर्ने भएकाले छुट्टाछुटै ठेकेदारबाट काम लगाउन लागिएको दाबी गरे।

‘एउटै कन्ट्र्याक्टरलाई सबै कामको जिम्मेवारी दिँदा आलटाल र ढिलासुस्ती गर्ने भएकाले छुट्टाछुट्टै ठेकेदारबाट काम गराउन लागिएको हो,’ उनले भने, ‘यो प्रक्रियाबाट काम गराउन छिटो सम्पन्न हुने अपेक्षा गरेका छौं।’ प्रवक्ता पन्तका अनुसार मेलम्चीको बाँकी आठवटा प्याकेजको काम सिएमसी ठेकेदारको सप्लायर्स र भेन्डरबाटै गराउन लागिएको आयोजनाका प्रवक्ता पन्तले जानकारी दिए। ‘सुरुङभित्रको प्राविधिक काम सिएमसीको भेन्डर र सप्लायर्सबाटै गराउन मन्त्रीपरिषद्बाट स्वीकृत भएको छ,’ उनले भने, ‘सिएमसीको पुरानै भेन्डर तथा सप्लायर्सले हाइड्रोमेकानिकल गेट, भेन्टिलेटर साफ्ट, पाइप फिटिङ, स्कडा सिस्टम, सिसी क्यामेरा जडान र अन्य इलेक्ट्रिकल काम गर्ने जिम्मेवारी तोकिएको छ।

आयोजनाले गत जेठ १७ गते मेलम्चीको सुरुङको काम सम्पन्न गराउन १५ दिने बोलपत्र आह्वान गर्दै सूचना जारी गरेको छ। आयोजनाले हेडवक्र्स निर्माणका लागि ३० दिने सूचना प्रकाशन गरेको हो। गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको बाँकी सुरुङ तथा हेडवक्र्स निर्माण कार्य छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो।

आयोजनाले मन्त्रीपरिषद्को निर्णयमा टेक्दै बाँकी कामको १० वटा प्याकेज गरेर ठेक्का लगाउन लागेको हो। आयोजनाले बाँकी काम सम्पन्न गर्न करिब तीन अर्ब लागत इस्टिमेट तयार पारेको छ। आयोजनाको ठेकेदार कम्पनीले गत पुस २ गते साइट छाडेर हिँडेको थियो। मेलम्ची खानेपानी बोर्डले इटालियन ठेकेदार कम्पनीसँग गत माघ २४ गते एकतर्फी ढंगले ठेक्का तोडेसँगै आयोजना अन्योलमा परेको थियो।

आयोजनाको ठेकेदार कम्पनीले साइड छाडेर हिँडेदेखि मेलम्ची आयोजना अलपत्र परेको हो। यससँगै वर्षौंदेखि उपत्यकावासीको मेलम्ची सपना अन्योलमा परेको थियो। आयोजनाका अनुसार सात सय मिटर सुरुङको ढलान गर्न बाँकी छ। मेलम्चीको हेडवक्र्स, भेन्टिलेटर साफ्ट, स्कोडा मेसिनलगायत प्राविधिक काम गर्न बाँकी छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित: २ असार २०७६ ०४:२९ सोमबार

मेलम्ची_खानेपानी_आयोजना नीति_कार्यक्रम टेन्डर