अर्थ

रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन बन्द

रसुवा - रसुवागढी नाकामा सोमबारदेखि कन्टेनर सञ्चालन ठप्प भएको छ।रसुवागढी नाका व्यवस्थापन समितिले पाँचबुँदे माग राख्दै कन्टेनर सञ्चालन नगर्ने घोषणा गरेका हुन्।सोमबार टिमुरेमा पत्रकार सम्मेलन गर्दै समितिले सीमित व्यापारीले नाका अस्तव्यस्त बनाएको भन्दै आलोपालो प्रणालीमा कन्टेनर सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

व्यवसायीको नेतृत्वमा आलोपालो प्रणाली लागू गर्ने व्यवस्था हुनुपर्ने, मेसवालाले आफूहरूलाई आवश्यक गाडी टिमुरेबाट जिम्मा लिएर लैजाने र केरुङमा सामान नपाई महिनौसम्म बस्नुपर्ने गाडीवालाको समस्या समाधान हुनुपर्ने, टिमुरेस्थित ट्राफिक जामको अन्त्य गर्न प्रणाली लागू गर्न दिनुपर्ने र गाडी तथा व्यवसायको सुरक्षा हुनुपर्ने माग राखेका छन्।

समितिले सामाजिक न्यायका आधारमा सबैले समान ट्रिप बोक्ने गरी सबै गाडीले क्यू सिस्टममा बोक्ने गरी व्यवस्था मिलाइएको व्यवसायी पेम्बा तामाङले बताए।‘हामीले आलोपालो प्रणाली लागू गरेपछि नाका व्यवस्थित भएको थियो,’ उनले भने, ‘यसले सबै व्यवसायीमा सहज भएको थियो ।’ नाका व्यवस्थापन गरे पनि कुनै पनि व्यवसायीबाट एक रुपैयाँ पनि शुल्क नउठाएको उनको भनाइ छ।जिल्ला प्रशासन कार्यालय रसुवाले सुरु गरेको पहिलो आउनेलाई केरुङ सामान लिन पहिलो जाने व्यवस्थाको विरोध गर्दै व्यवसायीले विरोध गरेका छन्।

पुरानो प्रणालीका कारण लामो समयसम्म केरुङ बस्नुपर्ने, पार्किङ खर्च बढ्ने तथा बसाई खर्च बढ्ने, बाटो साँघुरो भएकाले पहिरोको जोखिम मोल्नुपर्ने तथा सवारी जाम बढेको व्यवसायीको भनाइ छ। केरुङ अहिले सामग्री नपाउँदा करिब तीन सय कन्टेनर बसिरहेका रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जीव अमात्यले बताए।आलोपालो प्रणालीमा आठ सय ३५ कन्टेनर आवद्ध भएका छन्।नाकालाई तस्करमुक्त बनाउनुपर्ने र व्यवस्थित बनाउनुपर्ने व्यावसायी कामी नुर्पु तामाङले बताए।‘नाका अव्यवस्थित हुँदा व्यवसायीले घाटा बेहोर्नु परेको छ,’ उनले भने, ‘सामग्री आयात गर्न नसक्दा कन्टेनर बैंकले लिलाम गर्ने अवस्था छ ।’

नाका व्यवस्थित बनाउन कन्टेनर व्यवसायीले केही समयअघि मात्र पालो प्रणाली सुरु गरेका थिए।प्रशासनले लगाएको प्रणाली खारेज गरेपछि मात्र कन्टेनर सञ्चालनमा ल्याउने व्यवसायी दोर्जे तामाङले बताए।नाकामा दैनिक डेढ सयको हाराहारीमा सवारी सञ्चालन हुँदै आएको छ।
नाकामा सञ्चालन हुने ट्रक कन्टेनरलाई व्यवस्थित बनाउनका लागि ‘पहिलो पुग्ने कन्टेनरलाई पहिलो पालो प्रणाली’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । नाकामा सात सय कन्टेनर सञ्चालन हुन्छन्।मितेरी पुल निर्माण गर्ने समयमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदा करिब ४० सवारी मात्रै चीन जाने गरेका थिए।नेपालको सीमा क्षेत्रमा दैनिक जाने करिब चार सय कन्टेनर पार्किङ गर्नुपर्ने अवस्था आएपछि प्रणाली सुरु गरिएको थियो ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:०२ मंगलबार

रसुवागढी_नाका कन्टेनर