अर्थ

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ।

चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। 

गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो। मितेरी पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको हो। विहीबार बिहान सवारी वारपार गरेर औपचारिक रूपमा मितेरी पुल सञ्चालनमा ल्याइएको हो।

६ महिनामा निर्माण सम्पन्न गर्ने योजना थियो। मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने र चीन सरकारको वान वेल्ट वान रोडको अवधारणमा सहयोग पुग्ने विश्वास गरिएको छ। 

नाकामा सवारीको चाप बढ्दै जाँदा सवारी जोखिमलाई मध्यनजर गर्दै पुल निर्माण गरिएको सशस्त्र प्रहरी बल, राजस्व तथा भन्सार सुरक्षा गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक जीवन केसीले बताए।

पुनर्निर्माण भएको पुल पहिले रहेको पुलभन्दा ५ मिटर उत्तरपूर्व सरेकोे छ। गत सेप्टेम्बरबाट सुरु गरेर २०१९ मे महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। पुलको लम्बाई ११० मिटर र चौडाइ ९ मिटर रहेको छ। पुनर्निर्माणका लागि गत जुन २१ तारिखमा सम्झौता भएको थियो। 

प्रकाशित: २३ जेष्ठ २०७६ १०:२७ बिहीबार

रसुवागढी_नाका चीन मितेरी_पुल भूकम्प