अर्थ

मितेरी पुल पुनर्निर्माण जेठभित्र सकिने

रसुवागढी नाकामा निर्माण भइरहेको मितेरी पुल। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन मितेरी पुलको पुनर्निर्माण यही जेठ महिनाभित्र सकिने भएको छ। गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो।

नेपाल चीन जोड्ने मितेरी पुल यो महिनाभित्र निर्माण सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ। पुल निर्माण सकिएपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनालाई हस्तान्तरण गरिने छ। ६ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको पुलमा अहिले रेलिङ हाल्ने तथा फिनिसिङको काम भइरहेको छ।

मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने र चीन सरकारको वान बेल्ट वान रोडको अवधारणामा सयोग पुग्ने विश्वास गरिएको छ। पुनर्निर्माण हुन लागेको पुल अहिले रहेको पुलभन्दा पाँच मिटर उत्तरपूर्व सरेकोे छ। गत सेप्टेम्बरबाट सुरु गरेर सन् २०१९ मेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।

पुनर्निर्माण ढिलो सुरु भएको भए पनि तोकिएको समय सीमाभित्रै काम सम्पन्न गर्ने निर्माण पक्षले जनाएको छ। पुलको लम्बाइ एक सय १४ मिटर र चौडाइ ९.५ मिटर रहने छ। पुनर्निर्माणका लागि गत जुन २१ तारिखमा सम्झौता भएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७६ ०४:०० मंगलबार

रसुवागढी नाका मितेरी_पुल पुनर्निर्माण