अर्थ

शक्ति मिनरल्स बन्यो पहिलो उद्योग

भैरहवा - देशकै पहिलो निर्यातमूखी आयोजना विशेष आर्थिक क्षेत्र सेजको औपचारिक उद्घाटन भएको छ। सेजकै पहिलो उद्योग शक्ति मिनिरल्स प्रालिले औद्योगिक उत्पादन सुरु गरेपछि मंगलबार एक कार्यक्रमबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले रिबन काटेर उद्योगको उद्घाटन गरे।

सो अवसरमा बोल्दै मन्त्री यादवले विगतको नीति ढोका बन्द गरेर झ्यालबाट आउने नीति स्वरुपको रहेको बताए। अहिलेको सरकार मन्त्रालयको प्रयासमा सहज नीति बनाउने र एकद्वार प्रणाली सुरुवात गर्न लागेको बताए। ढोका थुनेर विदेशी लगानी भिœयाउन नसकिने भएकाले लगानी सम्मेलन गरेको बताउँदै उनले ढोका थुनेर झ्यालबाट बोलाइए लगानीकर्ता र लगानी भित्रन नसक्ने बताए।

उनले चुकुलमा खिया लाग्दा ढोका सहजै नखुल्ने र ढोका खोल्दा आवाज आउने भएकाले सरकारले ढोकालाई सहज बनाइ वातावरणमैत्री र जनतामैत्री उद्योग हुने धारणा राखे। २०७३ देखि भनाइमा सीमित एकद्वार प्रणालीको सुरुवात भोलिदेखि गरिने बताउँदै उनले अब उद्योग दर्ताका लागि मन्त्रालय–मन्त्रालय धाउनु नपर्ने र सबै कागजपत्र लिएर एकै ठाउँबाट निश्चित समयमा दर्ता हुने व्यवस्था गरेको बताए।

निर्यातमूखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए। उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकाले उत्पादनमा जोड दिनुपर्ने धारणा राखे। अब स्थापना हुने उद्योगमा अत्याधुनिक उपकरण प्रयोग गरी प्रदूषणरहित बनाउनका लागि मन्त्रालय लागेको उनले बताए। प्रदूषणलाई मन्त्रालय र जनताले स्वीकार्न नसक्ने बताउँदै उनले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नेतर्फ सरकार गम्भीरतापूर्वक लागेको बताए।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासँगै कामसमेत गरिरहेको उनले बताए। ‘नारा दिएर मात्र सम्भव छैन, सरकारले काम पनि गरिरहेको छ, सकारात्मक सोचको आवश्यकता छ,’ उनले भने। ४० करोड लगानीमा सञ्चालित उक्त उद्योगले स्वदेशी चुनढुंगाबाट स्टिल्स उद्योगका लागि आवश्यक कच्चा पदार्र्थ फ्लक्स र पेन्टको कच्चा पदार्थ डोलामाइट उत्पादन गरी विदेश निकासी गर्छ। नेपालकै कच्चा पदार्थबाट पहिलो डोलामाइट र फ्लक्स उत्पादन गर्ने शक्ति मिनिरल्स नेपालकै पहिलो उद्योग हो।

परीक्षण उत्पादन गरी आवश्यक चुनढुंगा भण्डारणसमेत गरिसकेको उद्योगले चुनढुंगालाई फोडेर स्टिल गलाउन र पेन्ट्सलगायत उद्योगको भट्टीमा प्रयोग हुने गर्छ। १८ हजार चार सय ६७ स्क्वायर मिटरमा सञ्चालनमा आउन लागेको उद्योग पूर्ण खानीमा आधारित रहेको शक्ति मिनिरल्स प्रालिले जनाएको छ।

नेपालकै पहिलो उद्योग भएको दाबी गर्दै उद्योगका अध्यक्ष विनोदकुमार श्रेष्ठले सेजको हालको नियमानुसार ६० प्रतिशतभन्दा बढी निर्यात गर्ने बताए। यहाँबाट उत्पादित कच्चा पदार्थ धेरैजसो भारत र केही अन्य तेस्रो मुलुक निर्यात गर्ने उनले बताए। एक सय ५५ जनालाई प्रत्यक्ष र पाँच सयलाई अप्रत्यक्ष रोजगारी दिएको उद्योगको हाल दैनिक एक हजार पाँच सय प्रतिटन उत्पादन क्षमता रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाले उद्योग स्थापनामार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन्। उनले सेजमा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन्।
प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले उद्योगलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सेजले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु-याउने धारणा राखे।

रुपन्देहीको रोहिणी गाउँपालिका–१ बगाहामा ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६९ वटा प्लट रहेका छन्। यो क्षेत्रमा स्थापना हुने उद्योगका लागि प्रारम्भिक आधारभुत विकास निर्माणको काम नेपाल सरकारले नै गर्नेछ।

प्रकाशित: १ जेष्ठ २०७६ ०३:३५ बुधबार

निर्यात शक्ति_मिनिरल्स मातृकाप्रसाद_यादव