अर्थ

चितवनको जितमा बोबो नायक

फोटो क्याप्सन ः भरतपुर गोल्डकपमा बिहीबार प्रतिस्पर्धा गर्दै खेलाडी। तस्विर: सविता/नागरिक

चितवन -  पेड्गा बोबोको ह्याट्रिकमा नुवाकोट ११ लाई ४–० ले परजित गर्दै चितवन ११ बिहीबार नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपको अघिल्लो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रिएको घरेलु टोली चितवन ११ बिहीबार बलियो देखियो।

खेलको पहिलो हाफमा चितवन– ११ ले दुई गोल गरेको थियो। बोबोले पहिलो गोल खेल सुरु भएको छैटौं मिनेटमा गोल गर्दै चितवन ११ लाई अग्रता दिलाएका थिए। उनले २१ मिनेटमा दोस्रो गोल गरेर  आफ्नो टोलीलाई विपक्षीविरुद्ध दुई गोलले अगाडि बढाएका थिए।

खेलअवधिमा बल अधिकांश समय नुवाकोटकै पोस्ट एरियामा थियो। जर्सी नम्बर १० का खेलाडी भुवन बस्नेतका प्रहार नुवाकोट ११ का गोलकिपर प्रिसोले रोक्न सफल भए।  उनी खेलअवधिभर अधिकांश समय गोल पोस्टबाहिर आएका थिए।

खेलको ६६औं मिनेटमा भुवन बस्नेतले  चितवन ११ का तर्फबाट तेस्रो गोल गर्दै आफ्नो टोलीलाई ३–१ गोलको अग्रता दिलाएका थिए। दोस्रो हाफको ३३ मिनेटमा तेस्रो गोल गर्दै बोबोले ह्याट्रिक गरे। दोस्रो हाफको सुरुमा नुवाकोटको पहिलो गतिलो प्रहार गोल हुन सकेन। नुवाकोटका तर्फबाट अउरेल इनामेले हानेको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। नुवाकोटले सशक्त प्रतिवाद गर्ने प्रयास गरे पनि सफल हुन सकेन। चितवनका गोलकिपरले पटकपटकको प्रयासलाई विफल बनाइदिए।

प्रतिस्पर्धामा ह्याट्रिक गरेका चितवन ११ का खेलाडी बोबो खेलको म्यान अफ दी म्याच  भए। प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।  एजे इन्टरनेसनलको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपैयाँ नगद र गोल्डकप पुरस्कार पाउनेछन्। उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ। शुक्रबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:२७ शुक्रबार

पेड्गा_बोबो ह्याट्रिक भरतपुर_गोल्डकप