अर्थ

बुधबारदेखि काम गर्न दिने सहमति

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजना। तस्बिर: नागरिक

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य बुधबारदेखि नियमित हुने भएको छ। बेत्रावती फलाखुखोला जलविद्युत् सरोकार समितिले विभिन्न माग राख्दै निर्माणमा अवरोध गरेपछि काम ठप्प भएको थियो। समितिले वैशाख २२ गतेदेखि निर्माण कार्य रोकेका थिए। 

समितिले संयुक्त बैठक राख्नुपर्ने, जग्गा अधिग्रहण गर्दा अधिग्रहण गरिएको जग्गा र त्यसको मूल्य सार्वजनिक गर्नुपर्ने, सडक निर्माणको खर्च सार्वजनिक गर्नुपर्नेे, स्थानीयको योग्यता र क्षमताका आधारमा रोजगारी दिनुपर्ने लगायत माग राखेको थियो।

वैशाख २८ गते बैठक बस्ने गरी बुधबारदेखि काम गर्न दिने सहमति भएको सरोकार समितिका अध्यक्ष दिल बहादुर मोक्तानले बताए। ‘हामीले आयोजना पदाधिकारीसँग छलफल गरेर काम गर्न दिने सहमति गरेका छौं,’ उनले भने, ‘आयोजनाले पारदर्शी रूपमा काम गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

१४.७ मेगावटको आयोजना डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ। आयोजनाले अहिले मुख्य सुरुङ निर्माण गरिरहेको छ। यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्बाइन वक्र्स एन्ड कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ।

आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले जनाएको छ। आयोजनाको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ।

यार्सामा हेडवक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ। आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ। आयोजनाका अनुसार दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहनेछ। तीमध्ये तीन सय मिटर टनेल निर्माण भइसकेको छ।

प्रकाशित: २५ वैशाख २०७६ ०२:४३ बुधबार

नौकुण्ड_गाउँपालिका फलाखु_खोला_जलविद्युत्_आयोजना अधिग्रहण