अर्थ

रसुवागढी र सान्जेनको आइपिओ बिक्रीबाट तीन अर्ब १७ करोड संकलन

रसुवा - रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट तीन अर्ब १७ करोड संकलन भएको छ। दुवै कम्पनीका लागि ६ लाख ११ हजारले आवेदन दिएका थिए। सान्जेनका लागि तीन लाख चार हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट एक अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ।

रसुवागढीका लागि तीन लाख सात हजार आवेदकले एक करोड ७६ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट एक अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ। दुवै कम्पनीले वैशाख ६ देखि वैशाख १२ गतेसम्म एक सय रुपैयाँका दरले आइपिओ निष्कासन गरेका थिए। 

यी दुवै कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत साधारण सेयर निष्कासन गरेका हुन्। रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख १५ हजार मूल्यको एक करोड दुई लाख ६३ हजार एक सय ५० कित्ता सेयर निष्कासन गरेको थियो।

सान्जेनले ५४ करोड ७५ लाख मूल्यबराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ। यसअघि स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गरेपछि मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन हुने गरेको थियो। निष्कासन हुने सेयरमध्ये दुवै कम्पनीले चार प्रतिशत कम्पनीका कर्मचारी र पाँच प्रतिशत म्युचुअल फन्डका लागि छुट्याएका छन्। यी दुवै आयोजना जनताको जलविद्युत्् कार्यक्रममा समेटिएको छ।

सर्वसाधारणका लागि सेयर निष्कासन भएको ६ महिनामा जिल्लाबासीका लागि सेयर जारी हुन्छ। नेपालमा स्थानीयलाई सेयर दिने काम रसुवाबाटै सुरु भएको थियो भने सर्वसाधारणलाई सुरुमा सेयर निष्कासन गर्ने कार्य पनि रसुवाकै जलविद्युत आयोजनाबाट सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलमविद्युत आयोजनाको ६८ प्रतिशत काम पूरा भएको छ। २०७६ फागुन ७ गतेसम्म विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत्् आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। २०७६ पुसभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। यसको उत्पादन क्षमता १४.८ मेगावट रहेको छ।

त्यस्तै ४२.५ मेगावट क्षमताको सान्जेन जलविद्युत आयोजनाको पनि ७० प्रतिशत काम सकिएको छ। यो आयोजनाले २०७७ जेठभित्र बिजुली उत्पादन सुरु गर्ने छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:३४ मंगलबार

रसुवागढी_जलविद्युत_कम्पनी आइपिओ कित्ता