अर्थ

व्यापार बढाउने समझदारी

काठमाडौं – नेपाल–चीन चेम्बर अफ कमर्स र चीनको बेइजिङस्थित चाइना ओभरसिज डेभपलमेन्ट एसोसिएसनबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी तथा पर्यटन प्रवद्र्धनसम्बन्धी समझदारी भएको छ।

समझदारीपत्र अनुसार दुवै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधीकरणका लागि एकआपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचना आदानप्रदान गर्नेछन्। व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदानमार्फत व्यापारिक सम्बन्ध विकास गरी विद्यमान व्यापारिक कठिनाइलाई आपसी समझदारीमा समाधान गर्ने बुँदा समझदारीपत्रमा छ। साथै आर्थिक, व्यापारिक तथा पर्यटन सम्बन्ध विस्तारका लागि दुवै मुलुकमा हुने गोष्ठी, सभा, सेमिनार जस्ता कार्यक्रममा सहभागी हुन एकआपसमा सहयोग गर्ने समेत समझदारीपत्रमा उल्लेख छ।

सो अवसरमा संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले संघको दुईपक्षीय आर्थिक तथा लगानी प्रवद्र्धन, पर्यटन, कृषिको विकास गर्ने उद्देश्यले भएको र हालसम ३१ वटा चिनियाँ व्यवसायी संघ–संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरी सहकार्य गर्दै आएको जानकारी गराए।

अध्यक्ष श्रेष्ठले अहिले नेपालमा स्थायी सरकार रहेको तथा अतिकम विकसित देशले पाउने विविध सुविधा नेपालले पाउने भएकाले नेपालमा लगानी गरी लाभ लिन चिनियाँ व्यवसायीलाई आग्रह गरेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनले नेपालको पर्यटन, कृषि, जलस्रोत र पुर्वाधार लगानीका लागि उपयुक्त क्षेत्र रहेको समेत जानकारी गराए।

समझदारीपत्रमा चेम्बरका उपाध्यक्ष त्रिभुवनधर तुलाधर र एसोसिएसनका महासचिव हे झेन्वेईले हस्ताक्षर गरेको चेम्बरको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ वैशाख २०७६ ०१:२३ मंगलबार

चीन_चेम्बर_अफ_कमर्स चाइना_ओभरसिज_डेभपलमेन्ट_एसोसिएसन लगानी