अर्थ

रसुवागढी र साञ्जेनको आइपिओ बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन

रसुवा– रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन भएको छ।

दुबै कम्पनीका लागि ६ लाख ११ हजार आवेदकले आवेदन दिएका थिए। साञ्जेनका लागि ३ लाख ४ हजार आवेदकले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट १ अर्ब ४१ करोड रुपैयाँ संकलन भएको छ। रसुवागढीका लागि ३ लाख ७ हजार आवेदकले १ करोड ७६ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट १ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको छ। दुबै कम्पनीले बैशाख ६ गतेदेखि बैशाख १२ गतेसम्म १ सय रुपयाँका दरले आइपिओ निष्कासन गरेका थिए।

यी दुबै कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत साधारण सेयर निष्कासन गरेका हुन्। रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार मूल्यको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो। साञ्जेनले ५४ करोड ७५ लाख मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ। यसअघि स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गरेपछि मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन हुने गरेको थियो।

निष्कासन हुने सेयरमध्ये दुबै कम्पनीले ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फन्डका लागि छुट्याएका छन्। यी दुबै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेटिएको छ। सर्वसाधारणका लागि सेयर निष्कासन भएको ६ महिनामा जिल्लाबासीका लागि सेयर जारी हुन्छ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको ६८ प्रतिशत काम पूरा भएको छ। ०७६ फागुन ७ गते सम्ममा विद्युत उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। २०७६ पुसभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। यसको उत्पादन क्षमता १४.८ मेगावाट रहेको छ।

त्यसैगरी ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ। यो आयोजनाले २०७७ जेठभित्र उत्पादन सुरु गर्नेछ।

प्रकाशित: १३ वैशाख २०७६ ०४:४९ शुक्रबार

रसुवागढी_जलविद्युत्_कम्पनी साञ्जेन_जलविद्युत्_कम्पनी साधारण_सेयर