अर्थ

प्रांगारिक कृषि प्रवद्धन मेला सम्पन्न

काठमाडौं – रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। ‘प्रांगारिक कृषि पद्धति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा करिब ६० हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा सुरु भएको चारदिने मेलामा प्रांगारिक कृषिसम्बन्धी प्राविधिक सूचनाबारे जानकारी गराएको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ बासुदेव शर्माले बताए।

मेलामा प्रांगारिक उत्पादन गर्ने मलदेखि विभिन्न उत्पादनका एक सय २५ स्टल राखिएको थियो। त्यस्तै अर्गानिक प्रदेश घोषणा गरिएको कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उत्पादित अर्गानिक उत्पादन राखिएको थियो। मेलामा प्रांगारिक तथा रैथाने परिकार कृषिसम्बन्धी अन्तरक्रिया कार्यक्रम, कृषिउपजको बिक्री वितरणका साथै बालीउपचार शिविर, माटो परीक्षण लगायत सेवा प्रदान गरिएको थियो।

बढी मुनाफा आर्जन गर्न रासायनिक मल प्रयोग गरी उत्पादित कृषि वस्तु सेवनले मानव स्वास्थ्यलाई जोखिम बनाइरहेका बेला प्रांगारिक कृषि प्रदर्शनी मेलाले सहरी क्षेत्रमा बसोबास गर्ने आम उपभोक्तालाई सचेतना बढाउन सहयोग पुगेको कृषि विभागका उपमहानिर्देशक प्रकाश सञ्जेलले बताए।

मेलामा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, किसानका लागि उन्नत बिउ कार्यक्रम, कृषि उद्यम केन्द्र, हेल्भिटास नेपाल र हसेरा एग्रिकल्चर रिसर्च एन्ड ट्रेनिङ सेन्टर, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र अर्गानिक सर्टिफिकेसन नेपालको सहभागिता रहेको थियो।

मेलाले प्रांगारिक कृषि प्रणाली अपनाउन कृषकलाई प्रोत्साहित गर्न, उपभोक्तामा स्वस्थकर प्रांगारिक कृषि प्रणाली अपनाउन, निर्यातयोग्य प्रांगारिक कृषि वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पुर्‍याउन, दिगो कृषि विकासका लागि प्रांगारिक कृषि पद्धतिको आवश्यकता बोध गराउन सघाउन पुगेको छ। रासायनिक मल र विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकाले रासायनिक मल र विषादी न्यूनीकरण गर्दै प्रांगारिक वस्तु उत्पादन वृद्धि गर्न सरकारले जोड दिँदै आएको छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०१:४७ सोमबार

काठमाडौं प्रांगारिक_कृषि_प्रदर्शनी_मेला रासायनिक_मल विषादीको