अर्थ

हवाई रुट कायम गराउन आइकाओमा संयुक्त निवेदन

काठमााडौं – भारतबाट भैरहवा र जनकपुर हुँदै हवाईजहाज प्रवेश गर्ने रुट कायम गराउन नेपाल र भारतले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा निवेदन दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार हवाई रुट कायम गराउन संयुक्त रुपमा अघिल्लो साता आवेदन दिइएको हो। रुटको सहमतिसँगै कार्यविधि र डिरेक्सन बनाउन संयुक्त निवेदन दिइएको गौतमले जानकारी दिए। यी रुटहरु अहिले एकतर्फी छन्। नेपालबाट उडेका जहाजले यी रुट प्रयोग गर्दै आएपछि नेपाल प्रवेश गर्दा भने सिमराकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ। यी दुई रुट कायम भएसँगै नेपाल प्रवेश र नेपालबाट बाहिरिँदा जहाजहरुले दुईतर्फी नै रुट प्रयोग गर्न पाउनेछन्। 

झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा हवाई रुट थप्न सहमति दिन माग गर्दै आएको थियो। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणधिन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै अन्योल भएको थियो।

भैरहवा र जनकपुरका रुट कायम भएसँगै अहिले युरोप, मध्यपूर्वी मुलुक लगायतबाट आउने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्नेछ। सिमराको तुलनामा कायम हुने रुट सहज र छोटो हुनेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी जनवरी १५ र १६ मा भारतमा भएको ‘ग्लोबल एभिएसन समिट–२०१९’ मा भाग लिन जाँदा दुवै देशका प्राविधिक राखेर भारतीय समकक्षी मन्त्रीसँगको छलफलले रुट टुंग्याएको हो। 

नयाँ रुट कायमसँगै निजगढ विमानस्थलको उडान सहज हुनेछ भने काठमाडौं र पोखरा विमानस्थलको लागि पनि सिमराभन्दा उत्तम हुनेछ।

नेपालले पाँच वर्षदेखि नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरबाट हवाई रुट थप गर्न सहमति माग्दै आएको थियो। गत वैशाखमा नेपाल भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीबीच हवाई रुट दिने सहमतिमा हस्ताक्षर पनि भयो। तर, दुवै देशका प्रधानमन्त्रीले नै सहमति जनाएको हवाई रुट कार्यान्वयन टुंग्याउन गत असोजमा प्राविधिक टोली भारत पुग्दा भने निर्णय हुन सकेन। नेपालले मागेका हवाई रुटमुनि आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चाप रहेको भन्दै भारत सम्झौताबाट पछि हटेको थियो।

तर, मन्त्री अधिकारी भने अन्य रुटको विषयमा पनि सकारात्मक रहेको दाबी गर्छन्। ‘चार रुटमध्ये अति आवश्यक रुट नेपालगन्ज र महेन्द्रनगर हुन्। यी रुटमुनि भारतका सैनिक क्याम्प रहेकाले केही समस्या भएको हो,’ मन्त्री अधिकारीले भने। पछिल्ला वार्ताहरुमा क्याम्प स्थान्तरण गरेर रुट दिने छलफल अगाडि बढेको मन्त्री अधिकारीको भनाइ छ। रुटको लागि दुई देशका सरकारबीच छलफल भइरहेकाले सक्दो चाँडो टुंगिने उनले दाबी गरे।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ। क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि पनि नयाँ रुट अपरिहार्य छ। नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरलेका अनुसार नयाँ विमानस्थलको लागि अहिलेकै हवाई रुटले पनि कामै नचल्ने त होइन। तर, सहजताको लागि रुट थप्नुपर्छ।

प्रकाशित: १३ फाल्गुन २०७५ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App