अर्थ

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्। 

मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले यसका लागि लगानी बढाउनुपर्नेमा जोड दिए। उनले सबै पूर्वाधार विकासका लागि सबै प्रकारका पूर्वाधार, सहज सुरक्षित र दिगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताए। 

आमनागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उनले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतासँगै गुणस्तरीय लगानी गर्नुपर्ने बताए। 

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका १७ लक्ष्यमध्ये नवौं लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक र व्यावसायिक लागत घटाउन पनि राम्रा पूर्वाधार निर्माण हुनुपर्ने धाणा राखे। व्यापारको लागत कम गर्न उपयुक्त पूर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएको तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताए। 

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो, रापवे तथा पानीजहाजको विकासका लागि पनि काम भइरहेको जानकारी दिए। सहज यातायातका लागि सम्पूर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने धारणा उनको छ। 

उनले भौतिक संरचनालाई लागत र वातावरणमैत्री बनाउने, मर्मत सम्भारलगायत व्यवस्थापन गर्न स्थापना भएका संस्थालाई भूमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जाँदा सहभागितामूलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने बताए। अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन संघको नेतृत्वमा जिम्मेवारी दिई काम सुरु गरिदाँ नतिजा छिटो आउनेमा समेत जोड दिए।

 

प्रकाशित: १ फाल्गुन २०७५ ०१:३५ बुधबार

अर्थमन्त्री युवराज_खतिवडा सामाजिक_क्षेत्र लगानी पूर्वाधारमा_विकास