अर्थ

रेल र पानीजहाज विकासका लागि काम भइरहेको छ : अर्थमन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धि गर्न यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताएका छन्। मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८ औं वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले यसको लागि लगानी बढाउनुपर्ने बताए।
 
उनले सबै पूर्वाधार विकासमा सहज सुरक्षित र दिगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको धारणा राखे। यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा दिनुपर्ने उनको भनाइ थियो।
 
संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका १७ मध्ये नवौँ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उनले व्यापारिक र व्यावसायिक लागत घटाउन पनि पूर्वाधार चाहिनेमा जोड दिए। ‘व्यापारको लागत कम गर्न उपर्युक्त पूर्वाधार निर्माण हुनुपर्छ, कृषि तथा औद्योगिक क्षेत्रको पूर्वाधारका लागि पनि उपर्युक्त सडक चाहिन्छ,’ अर्थमन्त्री खतिवडाले थपे, ‘विकास अनिवार्य हुनुपर्छ, यसलाई सरकारले उच्च प्राथमिकता राखेको छ।’

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेल्वे, मेट्रो, रापवे तथा पानीजहाज विकासका लागि पनि काम भइरहेको जानकारी दिए। 

प्रकाशित: २९ माघ २०७५ १०:०७ मंगलबार

विकास लगानी यातायात_पूर्वाधार युवराज_खतिवडा