अर्थ

पूर्वाधार बैंकले सञ्चालन अनुमति

काठमाडौं – पूर्वाधार विकास बैंकले सञ्चालन अनुमति पाएको छ। राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो अनुमति दिएको हो।

ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको उक्त बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ।पूर्वाधार विकास बैंकले २० अर्ब पुँजीमध्ये ४० प्रतिशतको सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक सेयर हुनेछ।  

केही महिनाअघि मात्र उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरिएको थियो। डेपुटी प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे छन्। बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यावसायिक घराना विशाल ग्रुप, लक्की गु्रप, आइएमई लगायतका समूह आवद्ध भएका छन्। बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको समेत सेयर रहनेछ। 

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी यो बैंक स्थापनाका लागि नेपालको निजी क्षेत्र तीन वर्षअघिदेखि गृहकार्यमा थियो। यो बैंकले सञ्चय कोष र बिमा कम्पनीको निक्षेप २० वर्षसम्म भन्दा लामो समयका लागि लिनेछ।

त्यो निक्षेप पूर्वाधार क्षेत्रमा लगानी हुनेछ। त्यसबाहेक स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, डिबेन्चर जारी गरि स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने लगायत काम गर्ने जनाइएको छ। प्रारम्भमा बैंक सञ्चालक समितिमा सरकारी प्रतिनिधिसहित सातजना रहने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रकाशित: २५ माघ २०७५ ०१:२८ शुक्रबार

पूर्वाधार_विकास_बैंक राष्ट्र_बैंक सञ्चालन_अनुमति