अर्थ

तालिमले किसानमा उत्साह

नुवाकोट – लिखु गाउँपालिका–६ का अर्जुन लामिछानेले लगानी अनुसारको आलु उत्पादन होस् भनेर रासायनिक मल र किटनासक औषधि प्रयोग गर्ने गरेका थिए। त्यसमा पनि मात्रा नमिलाई। तरप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु जोनद्वारा सञ्चालन गरिएको तालिममा सहभागी भएपछि आलुमा लागेको रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयमा जानकारी लिएका छन्।

‘आलु खेतीलाई व्यवसायको रुपमा नै अघि बढाइरहेका छौं।बर्सेनि किटनासक औषधि, रासायनिक मल प्रयोग गरेर मात्र खेती गरेका थियौं। मल तथा औषधिले माटो बिग्रन्छ भन्ने थाहा नै थिएन,’लामिछानेले भने,‘माटो परीक्षण गरेर, आलुमा लागेको रोगबारे जानकारी लिएपछि प्राविधिकको सल्लाहअनुसार मात्रा मिलाएर मात्र किटनासक औषधि प्रयोग गर्नुपर्ने रहेछ। लगानी अनुसारको आम्दानी नहुँदा आलु खेतीबाट निरास भएको थिए। तालिमले फेरि आलु खेती गर्न उत्साह थपिदिएको छ।’

गएको माघ १५, १६ र १७ गते लिखु ५ थानसिङमा ‘आलु खेती प्रविधि तथा प्रशोधन प्रविधि’ सम्बन्धी तालिम सञ्चालन भएको थियो। अव्यवस्थित रुपमा आलु खेती गर्दै आएका किसानलाई तालिमले व्यवस्थित रुपमा खेती गर्न हौसला मिलेको किसानको भनाइ छ। किसानलाई आलुको बिउ छनोट, रोप्ने तरिका, विषादीप्रयोग, आलुको दानामा लाग्ने रोग र उपचार विधि, आलुको ग्र्रेडिङ प्रक्रिया लगायत विषयमा जानकारी गराइएको थियो। तालिममा सहभागी विमला रिसालले भनिन्, ‘हामी भोलीलाई नहेरी आजमा केन्द्रित हुन्छौं। सस्तो बिउ खोज्दा घाटा बेहोरिरहेका थियौं। सुरुमा बिउमा नै ध्यान दिनुपर्ने रहेछ। उन्नत जात र स्वच्छ बिउ लगायो भने बोट राम्रो हुने र उब्जनी पनि राम्रो हुने रहेछ।’

जिल्लाको लिखु, पञ्चकन्या, ककनी र सूर्यगढी गाउँपालिकाको विभिन्न वडामा आलु जोन कार्यक्रम लागु भएको छ। कतिपय किसानहरुले आलु खनेर बजार पुराउन थालिसकेका छन्। तर आलुलाई बजारसम्म पुराउन समस्या भइरहेको पशुराम भण्डारीले बताए। “विगत १२ वर्षदेखि नै आलु खेती गरिरहेका छौँ। वर्षेनी ४÷५ रोपनीमा आलु लगाउछौँ तर सधै बजारको समस्या हुनि। ठेकदारहरु खेतबारीमा नै आउछन् तर हाम्रो भन्दा उनीहरुको भाउ चल्छ। सम्झि ल्याउदा आफ्नो पसिना सित्तैमा दिए जस्तो लाग्छ। दिनै भाउ फेरिरहन्छ,” भण्डारीले भने, “हामी किसानहरुले लगाएको आलु जोनले नै सङ्कलन गरेर एकै भाउमा बजार पुराइदिए हुन्थ्यो भन्ने लाग्छ।”

आलु किसानले भोग्दै आएको बजारको समस्याको समाधानको लागिजोनले विशेष योजना बनाएर मूल्यनिर्धारणको विषयमा अन्तरक्रिया गर्न लागिएको जोनका कार्यक्रम संयोजक मेनुका घिमिरेले बताइन्। “जोनले नै विउ दिएर ६ वटा कृषि समूह तथा सहकारी मार्फत १ सय ८० रोपनी जग्गामा आलु लगाइएको छ। त्यहाँ उत्पादन भएका आलुको वजार व्यवस्थापन जोनले नै गर्ने गरि सम्झौता भएको छ,” घिमिरेले भनिन्, “किसानहरुलाई लगानी अनुसारको उत्पादन कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न ठाउँमा तालिम सञ्चालन गरिरहेका छौँ। तालिमबाट किसानहरुले सैद्धान्तिक सिप सिकेर व्यवहारिक बन्न प्रेरित गर्नेछ भन्ने अपेक्षा गरेका छौँ।”

प्रकाशित: २४ माघ २०७५ ०१:५५ बिहीबार

नुवाकोट कृषि तालिम किसान