अर्थ

गौतमबुद्ध विमानस्थल सञ्चालन जिटुजी मोडलमा

काठमाडौं - नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिटुजी (दुईपक्षीय सरकारी सम्झौता) मोडलमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। आगामी जेठबाट सञ्चालनमा आउन लागेको विमानस्थल जिटुजी मोडलमा सञ्चालन गर्ने निर्णय प्राधिकरण बोर्डले यसअघि गरिसकेको छ। त्यसको लागि स्वीकृति माग्दै शुक्रबार तालुक मन्त्रालयमा पत्र पठाएको प्राधिकरणले जानकारी दियो। प्राधिरकणको प्रारम्भिक अध्ययन अनुसार पनि जिटुजी मोडल उपयुक्त हुने देखिएको छ।

‘कुन मोडलमा सञ्चालन गर्दा उपयुक्त हुन्छ भनेर अध्ययन र छलफल गरेका थियौं,’ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने, ‘विभिन्न मोडलमध्ये जिटुजी उपयुक्त हुने निष्कर्ष निकालेका छौं।’ गौतमका अनुसार अन्य देशका पनि विभिन्न विमानस्थल जिटुजी मोडलमा सञ्चालनमा छन्। यो मोडलमा सञ्चालन गर्दा अग्नि नियन्त्रण, हवाई उड्डयन सेवा, हवाई उडान व्यवस्थापनको जिम्मेवारी प्राधिकरणले लिनेछ। बाँकी सबै जिम्मेवारी जिटुजीअन्र्तगत जिम्मा लिने कम्पनीले गर्छ। विश्वमा नामी कम्पनी जिटुजी अन्तर्गत आएको खण्डमा विमानस्थलको सेवा चुस्त–दुरुस्त रहने अनुमान प्राधिकरणको छ। सोही अनुसार प्राधिकरण जिटुजी मोडलमा विमानस्थल सञ्चालन गर्न तयार भएर स्वीकृतिको लागि मन्त्रालय पठाएको गौतमले जानकारी दिए।

यता मन्त्रालय समेत विमानस्थल सोही मोडलमा सञ्चालन गर्न सकारात्मक छ। ‘विमानस्थललाई प्रभाकारी बनाउन जिटुजी मोडलमा सञ्चालन गर्नपर्ने देखिएको छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भने, ‘परीक्षणको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई जिटुजी मोडलमा सञ्चालन गरिनेछ।’ उनका अनुसार विमानस्थललाई जिटुजी मोडलमा चलाउन मन्त्रालयले समेत प्रक्रिया अगाडि बढाइसकेको छ।

स्रोतका अनुसार जिटुजी मोडलमा विमानस्थल सञ्चालन गर्न कतार र जर्मनीले अनौपचारिक प्रस्ताव मन्त्रालयमा पठाइसकेका छन्। छिमेकी तथा अन्य देशहरु पनि जिटुजी मोडलमा विमानस्थल सञ्चालनको लागि इच्छुक रहेको मन्त्रालयका एक अधिकारीले बताए। तर जिटुजी मोडलमा सञ्चालनको विषय सरकारले टुंगो लगाउनुपर्छ।

विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा यसअघि पनि सरोकारवाला निकायबीच एक चरण छलफल भएको थियो। सोही क्रममा अर्थ मन्त्रालयले जिटुजी मोडलमा सञ्चालन गर्न बढाउन सुझाव दिएको थियो। ‘अर्थले पहिलो चरणमा जिटुजी मोडलमा सञ्चालन प्रयास गरिने र त्यो नभएको खण्डमा मात्रै सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा जाने भनिएको छ,’ प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले भने, ‘आशा गरौं, जिटुजी मोडल नै सफल हुनेछ।’

उनका अनुसार जिटुजी मोडल अन्तर्गत विश्वका प्रसिद्ध कम्पनीबाट विमानस्थल सञ्चालन हुँदा यात्रुले गुणस्तरीय सेवा पाउँछन्। प्राधिरकणले आम्दानी समेत राम्रै पाउनेछ। तर कुन मोडालिटीमा आम्दानी दिनेछन् भन्ने विषय निक्र्योल भइसकेको छैन। प्रस्तावना माग गर्दा बक्यौताको मोडालिटी पनि निक्र्योल हुने उनले बताए। वार्षिक निश्चित रकम, आम्दानीको निश्चित प्रतिशत वा निश्चित आम्दानी गराउने प्रतिबद्धता अनुसार बक्यौता निक्र्योल गरिने प्राधिरकणले बतायो। अहिले सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरण आफैंले सञ्चालन गर्दै आएको छ। निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठबाट सञ्चालनमा आउनेछ। प्राधिकरणको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक गौतमले भने, ‘आगामी जेठमा सञ्चालनमा आउने विमानस्थलको सञ्चालन मोडल सक्दो चाँडो टुंग्याउन आवश्यक छ।’

१६ पुस २०५५ मा तत्कालीन हवाई विभागबाट सुरु भएको उड्डयन क्षेत्रको विकास र नियमन गर्ने संस्था प्राधिकरण स्थापना भएको सोमबार १९ वर्ष पुगेको छ। यो अवधिसम्म प्राधिकरणबाटै सेवा प्रदायक तथा नियमनकारी कार्य हुँदै आएको छ। यी दुई निकायलाई छुट्ट्याउने काम पनि अघि बढेको प्राधिरकणले जानकारी दियो। मन्त्री अधिकारीका अनुसार प्राधिकरणलाई दुइटा निकाय बनाउन ऐनको मस्यौदा तयार भइसकेको छ। संसदको अधिवेशनबाट चाँडै टुंगो लगाइनेछ।

त्यसैगरी, प्राधिकरणले १९ वर्ष पुगेर २० वर्ष लागेको अवसरमा ६ अर्ब आम्दानी गरेको प्रतिवेदन पनि सार्वजनिक गरेको छ। प्राधिकरणले आर्थिक वर्ष २०७४–०७५ मा ६ अर्ब २३ करोड ५९ लाख आम्दानी गरेको हो। पाँच अर्ब ४९ करोड आम्दानीको प्रक्षेपण गरिएको थियो। आम्दानी लक्ष्यभन्दा ७४ करोड १६ लाखभन्दा बढी आम्दानी गरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ। यो आम्दानी विमानस्थल शुल्क बाहेकको रहेको महानिर्देशक गौतमले बताए। प्राधिकरणले गत वर्ष आम्दानीसहित ऋण तथा अनुदानबाट १९ अर्ब २६ करोड खर्च गरेको छ।

प्रकाशित: १८ पुस २०७५ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App