अर्थ

टेलिकमको प्रबन्ध निर्देशकमा आठ आकांक्षी

काठमाडौं - नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा आठ आकांक्षीको प्रतिस्पर्धा हुने भएको छ। गत बुधबारसम्म परेका ११ आवेदनबाट आठजनालाई ‘सर्टलिस्ट’ छनोट गरिएको छ।  ११ जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको योग्यताका आधारमा आठजनालाई ‘सर्टलिस्ट’ गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। टेलिकमको प्रबन्ध निर्देशक बन्ने आकांक्षीमा एकजना बाहेक सबै कम्पनीभित्र कार्यरत कर्मचारी छन्। 

पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पनि पुनः उक्त पदमा दावेदारी प्रस्तुत गरेका छन्। कामिनी राजभण्डारी आउनुभन्दा अघि उनी उक्त पदमा थिए। आचार्यबाहेक अन्य सातजना टेलिकममै कार्यरत इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट कर्मचारी हुन्। 

प्रबन्ध निर्देशक पदमा आकांक्षी अर्का व्यक्ति बिमल आचार्य हुन्। उनी हाल धनगढी क्षेत्रीय निर्देशनालयका प्रबन्धक निर्देशक छन्। अन्य प्रतिस्पर्धीमा सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, संगीता पहाडी (अर्याल), डिल्लीराम अधिकारी, चन्द्रमोहन झा र प्रदीपराज उपाध्याय छन्। 

मन्त्रालयले प्रतिस्पर्धीलाई पुस १६ र १७ गते व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि मिति तोकेको छ। आठजना प्रतिस्पर्धीबाट प्रबन्ध निर्देशक छनोट समितिले तीनजनालाई सिफारिस गर्नेछ। सरकारले पद खाली भएको झन्डै चार महिनापछि प्रबन्ध निर्देशक नियुक्त गर्न लागेको छ। साउनको अन्तिम साता तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएपछि नेपाल टेलिकम नेतृत्वविहीन छ। मन्त्रालयले गत बुधबारसम्म अन्तिम मिति राखेर मंसिर २९ गते दरखास्त आह्वान गरेको थियो। मन्त्रालयका सचिवको संयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशक सिफारिस समिति गठन गरिएको छ। प्रतिस्पर्धाका लागि परेका दरखास्तबाट मूल्यांकन गरेर उक्त समितिले प्रबन्ध निर्देशकको लागि नाम मन्त्रालयमा सिफारिस गर्नेछ। 

प्रबन्ध निर्देशक नियुक्तिको लागि नेपाल सरकार वा सम्बन्धित संस्थामा कम्तीमा १५ वर्ष काम गरेको अनुभव हुनुपर्ने सर्त छ। मन्त्रालयका अनुसार उक्त पदमा नियुक्ति पाउन नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्थामा १५ वर्षको अनुभव हुनुपर्ने छ। अथवा, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेको भए पनि हुनेछ। तर, उक्त पदको लागि कार्यअवधि मध्ये कम्तीमा पाँच वर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको अनुभव हुनुपर्ने मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, उक्त पदमा नियुक्त हुने व्यक्ति ३५ देखि ५८ वर्षको र प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७२ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्ने छ। प्रतिस्पर्धाबाट नेपाल टेलिकममा नियुक्त भएकी राजभण्डारीलाई कार्यसम्पादन राम्रो नभएको भन्दै सरकारले साउनको अन्तिम साता बर्खास्त गरेको थियो। राजभण्डारी प्रतिस्पर्धाका आधारमा टेलिकमको प्रबन्ध निर्देशकको रुपमा २०७३ असोजमा तीन वर्षका लागि नियुक्त भएकी थिइन्। 

 

प्रकाशित: १६ पुस २०७५ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App