अर्थ

नयाँ गन्तव्यलाई २५ लाख

काठमाडौं – सरकारले छानेका एक सय नयाँ गन्तव्यका लागि पहिलो चरणमा २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। छनोटमा  परेका गन्तव्यको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको हो।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा नयाँ गन्तव्य पहिचान तथा विकासका लागि ५० करोड विनियोजन गरेको थियो। सोहीअनुसार मन्त्रालयले एक सय गन्तव्य छनोट गरेर बजेट पठाएको हो। एक गन्तव्य बराबर ५० लाख रुपैयाँ पूर्वाधार विकास र प्रचारप्रसारमा खर्चने कार्यक्रम रहे पनि पहिलो चरणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए।

‘हामीले पहिलो चरणमा विनियोजन गरेको बजेट स्थानीय तहमार्फत पूर्वाधार विकासमा खर्च गरिनेछ,’ प्रवक्ता उपाध्यायले भने, ‘बाँकी २५ लाख बजेट भने कामको आधारमा दोस्रो चरणमा उपलब्ध गराइनेछ।’ सरकारले पर्यटनको विकास तथा विस्तार गर्ने भन्दै चालु आर्थिक वर्षदेखि नयाँ गन्तव्य पहिचान गरेर घोषणा गरेर पूर्वाधार विकास तथा प्रचारप्रसार गर्ने योजना अघि सारेको थियो। सोही अनुसार मन्त्रालयले कात्तिक दोस्रो साता देशभरबाट छानिएका ऐतिहासिक, पुरातात्विक र भौगोलिक हिसाबले सुन्दर एक सय गन्तव्यको सूची सार्वजनिक गरेको थियो। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ गन्तव्यका लागि आवेदन दिन अनुरोध गरेको थियो। देशभरबाट आएका निवदेनका आधारमा सय गन्तव्यको छनोट गरेको हो।

तर, सार्वजनिक गरिएका कतिपय गन्तव्य भने विवादमा पनि आएका छन्। बझाङमै निजी मन्दिर गोरखनाथलाई सय गन्तव्यभित्र परेकामा स्थानीयले नै विरोध गरेका थिए। मन्त्रालयका एक अधिकारीका अनुसार विवादमा आएका ठाउँबारे थप अध्ययन तथा अर्को नयाँ गन्तव्य पहिचानको काम भइरहेको छ। त्यस्ता ठाउँका लागि भने बजेट व्यवस्था गरिएको छैन। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँदैछ। २० लाख  पर्यटक भिœयाउने लक्ष्यसहित मनाउने भ्रमण वर्षमा थपिएका नयाँ गन्तव्य पनि पर्यटकको आकर्षक हुने अनुमान मन्त्रालयको छ। मन्त्रालयका अनुसार यस वर्षबाट थालिएको नयाँ गन्तव्य पहिचान अर्को वर्ष पनि निरन्तरता गरिनेछ।

 

प्रकाशित: १६ पुस २०७५ ०५:३५ सोमबार

पूर्वाधार_विकास नयाँ_गन्तव्य बजेट