अर्थ

गाडी किन्ने बजेट विकासमा

सोलुखुम्बु – स्थानीय तहहरुले पुँजीगत बजेट अनावश्यक क्षेत्रमा खर्च गरेको आरोप लागिरहेका बेला महाकुलुङ गाउँपालिकाले सवारी साधन खरिदक लागि विनियोजित रकम विकास निर्माणमा खर्च गर्ने निर्णय गरेको छ। उक्त गाउँपालिकाले सवारी साधन खरिद शीर्षकमा विनियोजित ६२ लाख रुपैयाँ रकमान्तर गरी विकासमा खर्च गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष सागर किराँतीले चालु आर्थिक वर्षमा सवारी साधन खरिद गर्न विनियोजन गरेको ६२ लाख रुपैयाँ बजेट रकमान्तर गरी विभिन्न विकास निर्माणका आयोजना तथा सामाजिक काममा खर्च गर्ने निर्णय गरिएको जानकारी दिए। 

उक्त रकममध्ये सुर्के खोला लघु जलविद्युत् आयोजनालाई १० लाख र पात्ले सिँचाइ आयोजनालाई पाँच लाख रकम दिइएको छ। गुदेलमा बर्थिङ सेन्टर मर्मतका लागि चार लाख, वडा नम्बर–४ को बर्थिङ सेन्टर मर्मतका लागि चार लाख खर्च गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभित्र कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा तीन लाख बजेट छुट्ट्याइएको अध्यक्ष किराँतीले बताए। उनका अनुसार एक थान स्कुटर खरिदका लागि  दुई लाख ५० हजार राखिएको छ।

कार्यपालिका बैठकले ५० केभी क्षमताको ट्रान्समिटर खरिद र ढुवानीका लागि तीन लाख, सडक निर्माणको क्रममा ध्वस्त भएको सगरमाथा माध्यमिक विद्यालयको खानेपानी फिल्टरका लागि तीन लाख, स्वास्थ्य चौकी तुमाउको फर्निचर निर्माण र व्यवस्थापनको लागि चार लाख र पेल्माङ आधारभूत विद्यालयको ‘गोल्डेन महोत्सव’ मनाउन तीन लाख ५० हजार सहयोग गर्ने निर्णय समेत गरेको छ।

यस्तै, स्वास्थ्य चौकी गुदेलको भवन मर्मतका लागि चार लाख, चाकचाकुरको अवसरमा सम्पन्न हुने खुल्ला पुरुष फुटबल प्रतियोगितालाई चार लाख सहयोग प्रदान गर्ने गाउँपालिकाले निर्णय लिएको छ। गाउँपालिकाको पाश्र्वचित्र निर्माणको लागि आठ लाख विनियोजन गरिने भएको छ भने  गाउँपालिकाभित्र जुवा, तास र डाइस खेल्न प्रतिबन्ध लगाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ।

गाउँपालिकाले स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन गाउँसभामा पेस गर्ने गरी पारित गरेको छ। स्रोत व्यक्ति दयाराम बस्नेतलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिने, पशुपन्छी विकास शाखा प्रमुख डा. बिर्खराज राईले पेस गरेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन विधेयक र समूह व्यवस्थापन गर्न बनेको ऐन २०७५ पारित, कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका–२०७५ पारित गरिएको छ।

त्यस्तै, गाउँपालिका–३ बाट साबुन उद्योग तथा व्यवस्थापनका लागि तीन लाख रुपैयाँ छेस्काममा बर्थिङ सेन्टर भवन निर्माणको लागि रकमान्तर गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। साथै, गत मंसिर २३ गते निर्धारण गरिएको जिप भाडा कडाइको साथ लागू गराउन भूमिका खेल्ने निर्णय लिइएको छ।

प्रकाशित: १३ पुस २०७५ ०३:४८ शुक्रबार

स्थानीय_तह महाकुलुङ_गाउँपालिका सवारी_खरिद विकास