अर्थ

‘आर्थिक विकासका लागि कृषिमा आधारित उद्योग, पूर्वाधार र पर्यटन’

वीरगन्जमा आयोजित ‘प्रदेश २ को विकासका सम्भावना र चुनौती’ विषयक सम्वाद कार्यक्रम। तस्बिर : नागरिक

वीरगन्ज - आर्थिक सर्वेक्षण २०७४/७५ का अनुसार राष्ट्रिय औसत मानवीय विकास सूचक ०.४९ को दाँजोमा ०.४२ सहित पुछारमा परेको प्रदेश २ लाई आर्थिक रुपमा समृद्ध र विकसित बनाउन सकिने प्रसश्त आधार रहेको सरोकारवालाले बताएका छन्। कृषिमा आधारित उद्योग, पूर्वाधार र पर्यटन यसका लागि प्रमुख आधार रहेको उनीहरुले बताए।

स्थानीय, प्रदेश र संघीय सरकारले नीतिगत तथा कार्यान्यवनको तहमा तालमेल र समन्वय स्थापित गर्न सके विकासका लक्ष्य हासिल गर्न सकिने मंगलबार वीरगन्जमा आयोजित प्रदेश २ का आर्थिक विकासका सम्भावना र चुनौति विषयक सम्वाद कार्यक्रममा सहभागीले धारणा राखे। मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेकाले आर्थिक समृद्धि र अवसरमा समावेशी एवं समतामूलक सहभागिताको एजेन्डा मुखरित भएको वक्ताले टिप्पणी गरे।

कार्यक्रमका प्रमुख अथिति भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आर्थिक विकासलाई उकास्ने योजनाहरु प्रदेश सरकारले कार्यान्यवन गर्न लागेको बताए। उनले वर्तमान तथ्यांकहरुले विषयको वास्तविक स्वरुप देखाउन नसक्दा काम गर्न समस्या भएको बताए। ‘हामीले सडक, सञ्चार, सिँचाइ र कृषिको तथ्यांकीय नक्सांकन सुरु गरिसकेका छौं। यसले योजना निर्माण र कार्यान्यवनमा सघाउने छ,’ मन्त्री सोनलले भने, ‘उद्योग, कृषि र पर्यटनले नै प्रदेशको विकास सम्भव हुन्छ।’

उद्योगमा उनले कृषिमा आधारित उद्योग प्रदेश सुहाउँदो हुने बताए। ‘चिनी कारखाना, सुर्ति उद्योग, जुट उद्योगजस्ता कलकारखाना चलाउन हामीसँग आफ्नै कच्चा पदार्थ सम्भव रहेको छ, त्यस कारण यस्ता उद्योगमा जोड दिनुपर्छ जसले हाम्रा घरेलु उपजलाई भ्यालु एडिसन (मूल्य उन्नती) प्रदान गरोस्,’ उनले थपे, ‘यसले कृषिलाई सघाउँछ, त्यस्तै पर्यटनका लागि यस प्रदेशका आठै जिल्लालाई जोड्ने पर्यटकीय करिडोर बनाउन सकिने सम्भावना छ।’ मन्त्री सोनलले प्रदेशमा ५० मेगावाट बिजुली उत्पादनका लागि काम थालिसकिएको बताए।

पूर्व सप्तरीदेखि पश्चिममा पर्सासम्मका सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारालगायत आठ जिल्लालाई समेटेर दक्षिणी सीमाञ्चालमा अवस्थित प्रदेश २ ले ९,६६१ वर्गकिलोमीटर क्षेत्रफल ओगटेको छ। क्षेत्रफलका आधारमा सबैभन्दा सानो यो प्रदेशको जनघनत्व भने अन्य प्रदेशभन्दा बढी छ। ५४,०४, १४५ जनसंख्या (जनगणना २०६८) रहेको यो प्रदेश राजनीतिक आयाममा अगाडि भए पनि आर्थिक र सामाजिक विकासमा भने पछाडि फर्किएको तथ्यांकहरूले देखाउँछ।

काँग्रेस नेता तथा प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले अरु प्रदेशले पनि स्वीस्कार गर्ने किसिमले यस प्रदेशले आफ्नो विशिष्ठता कायम गर्न सक्नुपर्ने बताए। ‘गण्डकी प्रदेशले पर्यटनलाई आफ्नो आर्थिक विकासको मुख्य आधार बनाएको छ, अरु प्रदेशले पनि यसलाई स्विकार्छन्, हामीले हाम्रो मुख्य आधार तय गर्न सक्नुपर्छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका शर्माले भने, ‘हामी पूर्वाधारमा पनि पछाडि छौं, यसलाई मात्र सुधार्न सके धेरै विकास स्वभाविक रुपमै देखिने छ।’ उनले सिमरादेखि पोखरासम्मको उडानका लागि कार्य अगाडि बढिसकेको बताउँदै खुसी व्यक्त गरे।

प्रदेश सभा सदस्य प्रह्लाद गिरीले वीरगन्ज चिनी कारखना र कृषि औजार कारखाना जस्ता उद्योग आवश्यक भए पनि यसका लागि संघीय सरकारले चाँसो नदेखाएको बताए। उनले कृषिलाई कोदालो हसियाको युगबाट माथि उठाउन जरुरी रहेको बताए। प्रदेश सभा सदस्य भिमा यादवले कृषिको आधुनिकीकरणमा जोड दिइन्।

आर्थिक विषयका स्तम्भकार ओमप्रकाश खनालले अवधारणा पत्र प्रस्तुत गर्दै, प्रदेश २ मा ध्यान नदिइएको सम्भाव्यता मानव पुँजी रहेको उल्लेख गरे। ‘अहिलेको विश्व दिगो विकासको लक्ष्य भेटाउन मानव पुँजी निर्माणमा एकोहोरिएको छ। शिक्षित र दक्ष जनशक्ति विकासको मेरुदण्ड हो। क्षेत्रफलको अनुपातमा अन्य प्रदेशभन्दा बढी जनसंख्या रहेको प्रदेश २ मानव पुँजी निर्माणको प्रचूर सम्भाव्यता छ,’ खनालले भने, ‘तर, यसका लागि महिला, बालबालिका र युवाकेन्द्रित लगानीको अभाव छ। पोषण, शिक्षा, स्वास्थ्य र सरसफाइमा गरिने वर्तमान लगानी नै मानवीय पुँजी निर्माणको आधार हो।’

मुलुककै मुख्य आयात तथा निर्यात केन्द्र, समुद्री बन्दरगाहसँग निकटको दूरी, सुक्खा बन्दरगाह, आइसिपीलगायत पूर्वाधार भएर पनि अन्य प्रदेशभन्दा पछि देखिनु चुनौतीपूर्ण रहेको कार्यपत्र माथि टिप्पणी गर्दै उद्योग वाणिज्य महासंघका सदस्य अशोक टेमानीले बताए। महासंघका अर्का सदस्य गणेश लाठले मूल्य बढी आउने बाली कृषिमा भिœयाउनमा जोड दिए। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले बजेट बेलैमा खर्च नहुने, योजना निर्माण र छनोटमै समस्या हुने जस्ता समस्याबाट जोगिनुपर्ने र जनशक्तिका परिचालन सहि किसिमले गर्नुपर्ने राय व्यक्त गरे।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रसाशक श्याम प्रसाद भण्डारीले वीरगन्ज देशकै लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उपयुक्त स्थान भएकाले यसको सम्भाव्यतालाई प्रदेशले उपयोग गर्न सक्नुपर्ने बताए। उनले भारत–चीन व्यापारका लागि वीरगन्ज ट्रान्जिट बनेको बताए। वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले वातावरण निर्माण हुनसक्ने नयाँ लगानी भित्रिने सम्भावना देखेको बताए। प्रदेशको विकासका लागि प्रदेशभित्रै एउटा ठाउँले अर्कोठाउँको विशिष्ठताको पहिचान र सम्मान गर्न सक्नुपर्ने बताए।
कार्यक्रममा बोल्दै सहप्रध्यापक डा. दिपक शाक्यले कृषिको आधुनिकी करण र ग्रामिण उपजहरुका लागि समुचित बजारको प्रबन्ध प्राथमिकतामा पार्नुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश्२ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, नेपाली काँग्रेसका पर्सा जिल्ल सचिव श्याम पटेल लगायतले बोलेका थिए। वक्ताहरुले पथलैया खण्डलाई औद्योगिक कोरिडोर घोषणा, नयाँ उद्योगले जग्गा पाउन कठिन भइसकेकाले विशेष आर्थिक क्षेत्र र नयाँ औद्योगिक क्षेत्र निर्माण लगायतमा जोड दिए। एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, सिमरा बिमानस्थलको स्तरोन्ती र  पेट्रोलियम पाइपलाइन, रेलमार्ग, व्यापारिक मार्ग, हुलाकीमार्ग, द्रुतमार्ग, निजगढ विमानस्थल लगायत पुर्वाधर निर्माण प्राथमिकतामा राखेर गरिनुपर्नेमा एक मत देखिए।

प्रकाशित: ११ पुस २०७५ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App