अर्थ

सिआरडीका कारण ६ हजार बढी कुखुरा मरे

खोटाङ  - खोटाङको बाहुनीडाँडामा सञ्चालित कुखुरा फर्ममा पालिएका कुखुराहरु मर्न थालेका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा मर्न थालेका हुन्। मंसिर १९ गते यता दैनिक कुखुरा मर्न थालेको नगरकाे पशु सेवा शाखाले जनाएको छ। ११ हजार कुखुरा रहेको फर्ममा हालसम्म ६ हजार कुखुरा मरिसकेको जानकारी आएको नगरपालिकाका मेयर इवन राईले बताए।

दैनिक कुखुरा मर्न थालेको र मरेका कुखुरा दुधकोशीमा फाल्ने गरिएको जानकारीका आधारमा पशु सेवा शाखाले अनुगमन गरेको छ। अनुगमनका क्रममा चिसोका कारण श्वास प्रश्वासमा समस्या आएपछि लाग्ने क्रोनिक रेस्पीटरी डिजिज (सिआरडी) का कारण कुखुरा मरेको पशु सेवा शाखाका प्रमुख गणेश नेपालीले बताए। पशु सेवा शाखाको अनुगमनपछि मरेका कुखुरालाई चुन छर्केर खाल्डोमा पुर्ने व्यवस्था मिलाइएको छ। 

 

प्रकाशित: २३ मंसिर २०७५ ०७:०९ आइतबार

खोटाङ कुखुरा