अर्थ

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक

सिन्धुलीको रतनचुराका एक किसानले तरकारी खेती गर्न बनाएको प्लाष्टिक टनेल । तस्बिर : अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु। तर, जब ग्रामीण सडक तिनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासी आकाशियो। अनि पुर्वछानेले जुनारलाई मुख्य व्यवसायीक खेतीका रुपमा लिएर मेहेनत गर्न थाले। मेहेनत अनुसारको अहिले आम्दानी पनि राम्रै दिन्छ।

ग्रामीण सडकले म मात्रै नभएर अन्य किसान पनि व्यवसायीक भएका छन्, उनले भने, सडक सञ्जाल जोडिएसँगै यहाँको उत्पादनले राम्रो मुल्य पाएको छ। पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका किसानहरू व्यवसायीक बन्दै गएका छन्। जिल्लाको महाभारत क्षेत्रसहित ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै यहाँका किसान व्यवसायीक खेतीमा लागेका हुन्। ग्रामीण सडक कृषि सडक जस्ता सडक सञ्जाल थपिएपछि यहाँको महाभारत क्षेत्रका किसानहरू व्यवसायीक तरकारी खेती तथा पशुपालनमा लागेका छन्।

सदरमुकाम सिन्धुलीमाढी सहित देशका विभिन्न ठुला तथा साना शहरमा कृषकले उत्पादन गरेका कृषिजन्य बस्तुहरु निर्यात गर्नका लागि सहज भएपछि व्यवसायीक रुपमा कृषिमा लागि राम्रो आम्दानी कृषकले गर्न थालेका छन्। कृषि सडक पुगेर दैनिक बस सञ्चालन हुन थालेपछि साविक मझुवा गाविसका पुर्णबहादुर तामाङको दैनिकी नै तरकारीमा चल्न थालेको छ। उनको दैनिकी माटोमा खेल्नु र तरकारी बजारसम्म पुर्याउनुमै बितेको छ। उनी आफूले लगाएको तरकारी सहित छिमेकीको तरकारीसमेत दैनिक सदरमुकामस्थित कृषि उपज बजारमा ल्याएर बेच्न थालेपछि त्यहाँका बासिन्दा व्यवसायीक तरकारी खेतीमा हौसिएका छन्।

म दैनिक आफ्नो र गाँउको गरी १० हजार बराबरको तरकारी बजारमा लगेर बेच्ने गर्छु, उनले भने,‘गाउँमै नमुना तरकारी व्यवसाय सञ्जालन गर्न कृषकलाई सघाउ पुग्ने मेरो विश्वास छ।’ हाल कृषकले परम्परागत रुपमा गरिँदै आएको खेतीलाई छाडेर उन्नत जातका तरकारी तथा अन्य व्यवसाय गर्न थालेका छन्। विभिन्न गैरसरकारी संघ संस्थाको सहयोगमा गाउँ–गाउँसम्म व्यवसायी खेती गर्न सिकाउनु र खेतीबाट उत्पादन भएका बस्तुलाई सहज रुपमा बजार लैजान कृषी सडकको पहुँचले सहजै विक्री हुन थालेपछि व्यवसायीक रुपमा खेती हुन थालेको हो। ग्रामीण सडकको वरपर लहलह तरकारी फल्न थालेको रतनचुरा गाविसका कृषकको भनाई छ। ग्रामीण सडकले तरकारी खेती गर्न सहज भएको छ, यसैले मैले व्यवसायीक तरकारी खेती गर्न सुरु गरेको छु, रतनचुराका एक किसानले भने।

ग्रामीण सडक घरघरमा पुगेपछि हिँउदयाममा भने कृषकले उत्पादन गरेको कृषिजन्य बस्तु गाउँबाटै सजिलै विक्री वितरण हुन थालेको छ। पहिले कुहिएर जाने इस्कुस, फर्सी लगायतका तरकारी लिन अहिले राम्रो मूल्यमा गाउँमै व्यापारी गाडी लिएर पुग्ने गरेका छन्। सिन्धुलीको महाभारत क्षेत्रमा बाह्रै महिना चिसो हावापानी हुने भएकाले हरिया तरकारी जुनसुकै मौषममा पाइन्छ।

ग्रामीण सडक निर्माण गर्नका लागि स्थानीय सरकार सहित संघिय सांसदको बजेट समेत मोटो रकम वर्षेनी खर्चिने गरिएको छ।ग्रामीण सडकको सफल पक्ष भनेकै कृषकलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय बताउँछन्। गाउँमा कुहिएरनै जाने अधिकांश फलफूल तथा तरकारीले बजार भाउँ पाउँदा गाउँका स्थानीयको जिवनस्तरनै उक्सिएको देखिन्छ।

प्रकाशित: २१ मंसिर २०७५ ०९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App