अर्थ

सुनसरी मोरङ करिडोरका उद्योगमा अर्बौं लगानी थप

मोरङको बूढीगंगास्थित आरती स्ट्रिप्स। आरतीले फलामे डन्डी उत्पादन थालेको छ। तस्बिर : नागरिक

विराटनगर – राजनीतिक स्थायित्वपछि विकास निर्माणले गति लिने आसमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा निर्माण समाग्री उत्पादन गर्ने  ठूला उद्योग थपिन थालेका छन्। सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न स्थानमा फलामे डन्डी, सिमेन्ट जस्ता निर्माण सामग्री उत्पादन गर्ने नयाँ उद्योग धमाधम स्थापना हुन थालेका हुन्।

मोरङको बूढीगंगा टंकी सिनुवारीस्थित आरती स्ट्रिप्सले तीन अर्ब लगानीमा फलामे डन्डी उत्पादन थाल्ने तयारी गरेको छ। निर्माण सामग्री उत्पादन गर्दै आएको आरतीले थप लगानी गरेर फलामे डन्डी उत्पादन सुरु गर्न लागेको हो। भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी आरतीले करिब दुई दशकदेखि मोरङको बूढीगंगामा उद्योग स्थापना गरी जस्तापाता उत्पादन गर्दै आएको छ। उद्योगले दुई वर्षअघि फलामे पाइपसमेत निर्माण थालेको थियो।

आरतीले उद्योगलाई विस्तार गरी यसै वर्षदेखि फलामे डन्डी उत्पादन गर्न लागेको उद्योगका प्रशासकीय अधिकृत  दिवस नेपालले जानकारी दिए। नेपालका अनुसार राजनीतिक स्थायित्वसँगै विकास निर्माणका कामले गति लिने र निर्माण सामग्रीको माग बढ्ने सम्भावनालाई ध्यानमा राखेर फलामे डन्डी उत्पादन सुरू गरिएको हो। हाल परीक्षण उत्पादन गरिरहेको नेपालले जानकारी दिए।

एक महिनाभित्रै व्यावसायिक उत्पादन सुरू गर्ने योजना उनले सुनाए। ‘एक महिनाभित्रै आरतीले उत्पादन गरेको  फलामे डन्डी बजारमा आउने छ,’ प्रशासकीय अधिकृत नेपालले भने। आरतीले दैनिक सात सय टन फलामे डन्डी उत्पादन गर्ने तयारी गरेको छ। उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘प्राइम’ ब्रान्डमा आठदेखि ५० एमएमसम्मका टिएमटी छड उत्पादन गर्ने जनाएको छ। नेपालकै सबैभन्दा आधुनिक र इटालियन प्रविधिको स्वचालित मेसिन जडान गरी गुणस्तरीय फलामे डन्डी उत्पादन सुरू गर्न लागेको उद्योगको दाबी छ। 

यस्तै, अढाइ अर्ब रुपैयाँ लागतमा अर्को फलामे डन्डी उद्योग सुनसरीको दुहबीमा सञ्चालनमा आएको छ। उद्योगले ‘प्रिमियर’ ब्रान्डमा फलामे डन्डी बजारमा ल्याएको हो। शारडा ग्रुप र एके राठी ग्रुपले संयुक्त रुपमा फलामे डन्डी उद्योग सञ्चालनमा ल्याएका हुन्। प्रिमियर ब्रान्डमा बिजुलीका तार उत्पादन गर्दै आएको शारडा ग्रुपले नयाँ सझेदार खोजेर फलामे डन्डी उत्पादन सुरू गरेको हो। उद्योगका सञ्चालक तथा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले उद्योगले आठदेखि ४० एमएमका फलामे डन्डी उत्पादन सुरू गरेको जानकारी दिए। हालसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रविधिको मेसिनबाट फलामे डन्डी उत्पादन थालिएको उनले बताए। यसअघि सुनसरी–मोरङ औद्योगिक करिडोरमा पशुपति, हुलास र कमला रोलिङले फलामे डन्डी उत्पादन गर्दै आएका थिए।    

यस करिडोरमा फलामे डन्डीसँगै ठूला सिमेन्ट उद्योग पनि थपिने क्रममा छन्। नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि हात्तीमुडाले ‘बन्धन’ ब्रान्डको सिमेन्ट उत्पादन तयारी गरेको छ।  प्रदेश १ को  सिमेन्ट मागलाई सम्बोधन गर्ने उद्देश्यले ‘बन्धन’ ब्रान्डको सिमेन्ट बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी निर्देशक रजनिश कर्नानीले जर्मन प्रविधिको प्रयोग गरी उच्च गुणस्तरको सिमेन्ट बजारमा ल्याउन लागिएको बताए।

सुरुमा दैनिक २५ हजार बोरा उत्पादन गर्ने र पछि उत्पादन दोब्बर पार्ने योजना रहेको कर्नानीले बताए। उनका अनुसार पूर्ण स्वचालित अत्याधुनिक प्लान्टबाट उत्पादन हुने भएकाले सिमेन्टको मसिनोपन अत्यधिक हुनेछ। नेपालमै सिमेन्ट ग्रान्डिङ युनिटमा पहिलोपटक ट्रक ट्रिप्लर र स्टेकर रिक्लेमर जस्ता मेसिन प्रयोग गरिएको उनको दाबी छ। अत्याधुनिक प्रयोगशालामा अनुभवी प्राविधिकले सूक्ष्म रुपमा गुणस्तर परीक्षण गरेपछि मात्र सिमेन्ट बजारमा ल्याइने भएकाले गुणस्तरीय हुने कम्पनीको दाबी छ।

सिमेन्ट उद्योगमा बल्क लोडिङ प्रणाली प्रयोग भएकाले बोरामा प्याकिङ नगरेको खुला सिमेन्ट पनि खरिद गर्न सकिने छ। यसले ठूला परियोजना निर्माणमा लागत कम गर्न र समय बचत गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ। यस्तै मोरङकै कटहरीमा ‘सप्ताकोसी’ ब्रान्डको सिमेन्ट उत्पादनको तयारी छ। विगतको नेसनल सिमेन्ट उद्योगले क्षमता बढाउन लागेको हो। सुनसरी–मोरङ औद्योगिक करिडोरमा सिमेन्ट उद्योगको संख्या ६ पुगिसकेको छ।

प्रदेश १ मा ठूला जलविद्युत् आयोजना र विकासका पूर्वाधार निर्माणको काम भइरहेकोले निर्माण सामग्रीको माग बढ्ने उद्योगीको अपेक्षा छ। देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना अरुण–३ को निर्माण सुरू भइसकेको छ। अरुण–३ परियोजनाले आवश्यक पर्ने निर्माण सामग्री नेपाली उत्पादकबाटै लिने भएकाले पनि पूर्वमा निर्माण सामग्रीका उद्योग थपिने क्रम बढेको हो। अरुण–३ ले केही दिनअघि विराटनगरमा अन्तक्र्रिया कार्यक्रम गरी परियोजनालाई आवश्यक पर्ने निर्माण सामग्री उपलब्ध गराउन आग्रह गरेको थियो।

अरुण–३ जलविद्युत् आयोजना निर्माणका लागि नेपाली उत्पादन नै प्रयोग गर्ने नेपाल–भारतबीच सम्झौता भएको थियो। अरुण–३ परियोजना निर्माणको चर्चा हुँदा विगतमा पनि सुनसरी र मोरङमा १२ वटा फलामे डन्डीका उद्योग स्थापना भएका थिए। हाल तीनवटामात्रै फलामे डन्डी उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। अरुण– ३ परियोजनाका लागि मात्रै चार लाख ५८ हजार मेट्रिक टन सिमेन्ट, ४८ हजार चार सय मेट्रिक टन रड प्रयोग हुने अनुमान छ।

होडबाजीले सधैं खतरा
पूर्वमा निर्माण सामग्रीका ठूला उद्योग खोल्ने होडले खतराको घन्टी बजाइसकेको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडा बताउँछन्। उनका अनुसार विगतमा प्रदेश १ मा तीनवटा मात्रै फलामे डन्डीका उद्योग भएकोमा हाल दुईवटा थपिएर पाँच पुगेको छ। ‘संख्यामात्रै बढेको छैन, नयाँ उद्योगले उत्पादन थालेपछि मागभन्दा आपूर्ति अधिक हुनेछ,’ शारडा भन्छन्, ‘हाल तीनवटा उद्योगले उत्पादन गरेभन्दा बढी थपिएको एउटै उद्योगले उत्पादन गर्छ।’

उत्पादन अनुसार बजारको माग धेरै बढ्ने सम्भावना नरहेको उनको आँकलन छ। शारडाका उनका अनुसार पूर्वमा विगतको अनुभवले पनि एउटै वस्तु उत्पादन गर्ने धेरै उद्योग स्थापना हुँदा उद्योगको बाढीले बगाएको देखाउँछ। टेक्सटालयल, जुट उद्योग, वनस्पति घिउ, फलामे डन्डी उद्योग प्रतिस्पर्धा गर्नै नसकेर विगतमा पनि डुबेका थिए। फेरि पनि फलामे डन्डी, सिमेन्ट, चाउचाउ, विस्कुटलगायत खाद्य परिकारका उद्योग लागाउने होड चलेकाले यस्तो होडले धेरैलाई डुबाउने शारडा बताउँछन्। तत्कालै नेपालमा उत्पादित सिमेन्ट र फलामे डन्डी विदेश निर्यात हुने सम्भावना नरहेको उनले बताए। ‘एउटाले कमायो भनेर बजार विश्लेषण नगरी सबै त्यसकै पछि लाग्ने प्रवृत्तिले समस्या निम्त्याउँछ,’ शारडाले भने।

प्रकाशित: १९ मंसिर २०७५ ०३:२६ बुधबार

सुनसरी–मोरङ_औद्योगिक_करिडोर उद्योग लगानी