अर्थ

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

काठमाडौं- नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन्। आर्थिक पत्रकार समाज (सेजन) द्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड यसवर्ष छापा सञ्चार माध्यमका लागि खड्कालाई प्रदान गरिएको हो।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा. डा. रामप्रसाद ज्ञवाली तथा पत्रकारहरू ध्रुवहरि अधिकारी र बबिता बस्नेत निर्णायक रहेको समितिले पुरस्कारको छनोट गरेको हो।

पुरस्कारको राशी ५० हजार रुपैयाँ र प्रमाणपत्र रहेको छ। सेजन स्थापना दिवसको अवसर पारेर शनिबार पुरस्कार वितरण गरियो। अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार वितरण गरेका थिए। खड्काले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइमा भएको अनियमितताबारे लेखेको समाचार उत्कृष्ट भएको हो। विद्युतीय सञ्चार माध्यमको तर्फबाट पत्रकार सुवास योञ्जनले पुरस्कार प्राप्त गरेका छन् ।

प्रकाशित: १५ मंसिर २०७५ ११:४५ शनिबार

पुरस्कार सम्मान