अर्थ

निम्तो दिन म्याग्दीको टोली धुलिखेलमा

बनेपा - म्याग्दी उद्योग वाणिज्य संघ तथा म्याग्दीस्थित विभिन्न स्थानीय तहहरुको समन्वयमा जारी ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ को प्रवद्र्धनका लागि आयोजकहरुको टोली सोमबार धुलिखेल आइपुगेको छ। विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँग अन्तरक्रिया र भ्रमण वर्षको प्रवद्र्धन गर्दै टोली यहाँ आइपुगेको हो।

टोलीलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका स्थायी सदस्य दिलसुन्दर श्रेष्ठले धुलिखेल र म्याग्दी उद्योग वाणिज्य संघबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहेकाले सो कार्यक्रम सफल पार्नका लागि धुलिखेलले आवश्यक प्रचार प्रसार र समन्वय गर्ने जानकारी दिए । ‘स्थानीय कृषि उत्पादन तथा पर्यटनका माध्यमबाट जिल्लालाई चिनाउन सफल हुन सकिने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुहोला । धुलिखेलअन्तर्गत सञ्चालित अर्गानिक अभियानमा दुवै संघबीच सहकार्य गर्न सम्भव छ,’ श्रेष्ठले सुझाए।

धुलिखेलका पूर्वनगर प्रमुख बेलप्रसाद माकजु श्रेष्ठले पछिल्लो समय धुलिखेल प्राकृतिक सौन्दर्यताका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी प्रणालीको विकास भएको नगरका रुपमा परिचित रहेकाले नयाँ गन्तव्य बनेको धारणा राखे। म्याग्दीको शिक्षा र स्वास्थ्यको विकासमा धुलिखेल मोडल उपयुक्त हुने पनि उनले सुझाव दिए।

म्याग्दीको टोलीलाई स्वागत गर्न धुलिखेल आइपुगेका सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले ऐतिहासिक सिन्धुलीगढी र जुनार जिल्लाको पहिचान भएकाले दुवै चीजको प्रवद्र्धनका लागि संघबीच सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे।

धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले भ्रमण वर्षभित्रै धुलिखेल र यसले ‘एक गाउँ, एक उत्पादन’का रुपमा प्रवद्र्धन गरिएका सामुदायिक होमस्टेलाई म्याग्दीको भ्रमण गराउने वचनवद्धता व्यक्त गरे । ‘म्याग्दी होमस्टेले अपनाउँदै आएको आतिथ्यताको विधि हाम्रा होमस्टेलाई मार्गदर्शक हुनसक्नेछ,’ उनले भने।

धुलिखेलको स्वागत ग्रहण गर्दै भ्रमण वर्ष मूल संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष उत्तमकुमार कर्माचार्यले जिल्ला समन्वय समिति तथा जिल्लाका सबै स्थानीय सरकार र संघसंस्थाको सहयोग र साथले भ्रमण वर्ष मनाउन लागिएको जानकारी दिए । ‘हामीलाई बेनी नगरपालिका तथा धौलागिरी, मंगला, अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकाको सहयोग रहेको छ । यस्तै म्याग्दी विकास मञ्च, पत्रकार महासंघ म्याग्दी शाखा, म्याग्दी प्रवासी नेपाली संघ (मोना) तथा नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–४ लगायतको सहयोग रहेको छ,’ उनले थपे।

मंगला गाउँपालिकाकी उपप्रमुख सृजना केसीले निजी क्षेत्रसँगको सहकार्यमा भ्रमण वर्ष आयोजना गरेर निजी क्षेत्रसँगै विकास पनि लैजानुपर्छ भन्ने अभियानको सन्देश स्थानीय सरकारले दिन खोजेको बताइन् । ‘भ्रमण वर्षमा प्राकृतिक तातोपानी कुण्डका साथै हाम्रो गाउँपालिकाको टोड्केलाई प्रवद्र्धन गर्न लागेका छौं । बेनीबाट साढे एक घन्टाको दूरीमा रहेको टोड्केमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि स्तरीय रिसोर्ट निर्माण भइरहेको छ, होमस्टे खुलिसकेका छन्। धौलागिरीको काखमै पुगेको अनुभूति हुने टोड्के गुराँसका लागि प्रख्यात स्थान बन्दैछ,’ उनले थपिन्।

टोलीले धुलिखेलसहित पाल्पा, बुटवल, नारायणगढ, हेटौंडा, काभ्रे र उद्योग वाणिज्य महासंघका पदाधिकारी र पर्यटन उद्यमीसँगको भेटमा भ्रमण वर्षको प्रवद्र्धन तथा अन्तरक्रिया सम्पन्न गरेको मूल संयोजक कर्माचार्यले जानकारी दिए। टोलीमा संयोजक कर्माचार्यका साथै मंगला गाउँपालिका उपप्रमुख सृजना केसी, संघका पूर्वअध्यक्षद्वय सुदर्शनकुमार श्रेष्ठ र सूर्यप्रसाद मरासिनी, वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठ, महासचिव लीलाराम गौतम, सचिव सुवर्ण रिजाल र धौलागिरि पर्यटन विकास समिति अध्यक्ष अमरबहादुर बानियाँलगायत सहभागी रहेका छन्।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App